बागलुङ नगरको न्यायिक समितिद्वारा नागरिकको न्यायमा पहुँच बारे अन्तरक्रिया सम्पन्न
बागलुङ । बागलुङ नगरपालिकाको न्यायिक समितिले मेलमिलाप केन्द्रहरुको पुर्नगठन, वार्षिक समीक्षा तथा केन्द्रको व्यवस्थापन र संचालनबारे अन्तक्रियाहरु सम्पन्न गरेको छ । वडा मेलमिलाप केन्द्रहरुको थप क्रियाशिलता बढाउदै, न्यायमा नागरिकको सहज पहुँच अभिवृद्धि गर्ने उद्धेश्यले अन्तक्रिया गरिएको जनाइएको छ ।
कार्यक्रममा वडा मेलमिलाप केन्द्रहरुको पुर्नगठन गरी मेलमिलाप सम्पादनमा देखिएका समस्या, अनुभव र असल अभ्यास भावी योजनाहरुबारे कार्यक्रममा जानकारी गराइएको थियो । कार्यक्रममा न्यायिक समितिका संयोजक एवं नगर उपप्रमुख राजु खड्काले न्यायिक समितिलाई प्रभावकारी बनाउन कुशल मेलमिलापकर्ताहरुको आवश्यकता रहने भएकाले मेलमिलापकर्ताहरुको क्षमता विकास गर्दै वडा मेलमिलाप केन्द्रहरुको सस्थागत विकास गर्दै जाने लक्ष्य लिइएको बताउनुभयो । यसका लागि नगरपालिकाले तयार गरेको मेलमिलाप सम्बन्धि कार्यविधि र प्रचलित कानुन बमोजिम मेलमिलापको प्रक्रिया संचालन गर्नु पर्ने उहाँले बताउनुभयो ।
वर्तमान परिवेशमा मेलमिलापकर्ताहरुले आफ्नो भूमिका बढाउदै, कलेज, विद्यालय, टोल विकास, समुदाय तथा वस्तीस्तरमा न्यायिक समिति र मेलमिलापबारे न्यायिक सचेतना फैलाउन आग्रह गर्नु भयो । विशेषगरी मेलमिलापका ७ चरण र प्रभावकारी प्रयोग तथा मेलमिलाप केन्द्रको प्रवद्र्धन, प्रचार प्रसार र क्रियाशिलता आजको आवश्यकता भएको उपप्रमुख खड्काले बताउनु भयो ।
अन्तक्रियामा न्यायिक सहजकर्ता ज्ञानेन्द्र पन्तले न्यायिक समितिमा पक्षले दिने निवेदनदेखि निर्णय लेखनसम्मका प्रक्रियाबारे वडा अध्यक्ष, सदस्यहरु, कर्मचारी, मेलमिलापकर्ताहरुलाई जानकारी गराउदै अनुसूचिमा उल्लेख गरिएका प्रक्रियाबारे जानकारी गराउनु भएको थियो ।













































































































































































































