बागलुङ । बागलुङका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले सार्वजनिक सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाइने बताएका छन् । जिल्ला प्रशासन कार्यालयमा आज आयोजित पत्रकारसँगको अन्तरक्रियामा उहाँले नागरिकलाई छरितो र झण्झटरहित ढङ्गले सेवा दिनुपर्ने बताउनुभयो ।
जिल्लाको शान्तिसुरक्षालाई चुस्त र व्यवस्थित राख्न सबै पक्षसँग सहकार्य गर्ने प्रजिअ आचार्यले बताउनुभयो । उहाँले कर्मचारीले सरकारी कार्यालयप्रतिको जनगुनासो कम गर्ने गरी कार्यसम्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।
आसन्न प्रनिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न सबै पक्षको सकारात्मक सहयोगमा चाहिने उल्लेख गर्नु भयो ।
अन्तरक्रियामा पत्रकारहरुले सार्वजनिक सेवा प्रवाहलगायत जिल्लाका विविध समस्याका बारेमा प्रजिअ आचार्यको ध्यानाकर्षण गराएका थिए ।
प्रजिअ आचार्यले जिल्लामा भइरहेको प्राकृतिक स्रोतको अवैध उत्खनन नियन्त्रण, ट्राफिक व्यवस्थापन, सवारी भाडादरमा भइरहेको मनपरी जस्ता वेथिति अन्त्यका लागि आफूले सक्दो पहल लिने बताउनुभयो ।
यसअघि लोकसेवा आयोगको कार्यालय, बागलुङको प्रमुख भइसकेका आचार्य केही दिनअघि प्रजिअका रुपमा जिल्ला प्रशासन कार्यालयमा पदस्थापन भएका थिए ।
अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ, बागलुङका अध्यक्ष राम थापा, पूर्वअध्यक्षहरु रामबहादुर जिसी, मुकेशचन्द्र राजभण्डारीलगायत जिल्लामा क्रियाशील पत्रकारहरुको सहभागिता रहेको थियो ।













































































































































































































