बागलुङ । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामाले विद्यार्थीको क्षमता अभिवृद्धि, अनुशासन, सहकार्यको भावना विकास र सामाजिक सञ्जालको दुष्प्रभावबाट बालबालिकालाई जोगाउनमा खेलकुदमा घुलमिल गराउनु पर्ने बताउनु भएको छ ।
बागलुङमा सोमबार ‘फिफा फुटबल फर स्कुल’कार्यक्रमको उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो । यो कार्यक्रमलाई गाउँ गाउँका विद्यार्थीको विचमा पुर्याउनका लागि जिल्ला फुटबल संगले थप मेहनत गर्नुपर्ने बताउनु भएको थियो ।
एन्फा, शिक्षा मन्त्रालय र खेलकुद मन्त्रालयको सहकार्यमा देशका ७७ वटै जिल्लामा शुभारम्भ भएको कार्यक्रम अन्तर्गत बागलुङमा पहिलो चरणमा विद्यालयमा फुटबल वितरण गरिएको छ ।
कार्यक्रमको उद्देश्य विद्यालयमा फुटबल सामग्री वितरण, प्रशिक्षक तालिम र जीवनोपयोगी सीप सिकाउने भएपनि पहिलो चरणमा बागलुङका ६ वटा विद्यालयमा फुटबल वितरण गरिएको हो ।
विश्व फुटबल महासंघ (फिफा) र युनेस्कोको साझेदारीमा सञ्चालित यस कार्यक्रमलाई विस्तार गरेर क्याम्पस स्तरमा पुर्याइने उपाध्यक्ष लामाले बताउनु भयो । देशका १ हजार ७२ वटा विद्यालयमा लागु भएको कार्यक्रममा बागलुङका ६ र गण्डकी प्रदेशका १ सय ४२ सामुदायिक र संस्थागत विद्यालय समावेश छन् ।
कार्यक्रमा सहभागी हुनका लागि १ हजार ४ सय विद्यालयले फारम भरेको भएपनि मापदण्ड पुगेका विद्यालय मात्र कार्यक्रमका लागि छनौट भएको उहाँले बताउनु भयो ।
विद्यालय तहका ८ देखि १२ वर्षसम्मका बालबालिका लागि छनौट भएका प्रत्येक विद्यालयलाई १५ वटाका दरले फुटबल हस्तान्तरण गरिएको छ ।
कार्यक्रमका लागि छनौट भएका बागलुङका रुद्रेपिपल माध्यामिक विद्यालय, आदर्श विद्यामन्दिर, फ्युचर ब्राइटर, गुँरास विद्या सदन, चिल्ड्रेन लाइफ र अमर आदर्श गरि ६ वटा विद्यालयले फुटबल प्राप्त गरेका हुन् ।
‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको शुभारम्भ समारोहमा गुँरास विद्या सदन बागलुङका प्रिन्सिपल निशान खड्काले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रम जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष जय राजभण्डारीको अध्यक्षता, उपाध्यक्ष राहुल बोहराको स्वागत तथा महासचिव रेशम गोतामेको सञ्चालनमा सम्पन्न भएको थियो ।
आर्दशसंचारबाट













































































































































































































