बागलुङ । ग्लोबल आइएमई बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।सार्वजनिक विवरणअनुसार दोस्रो त्रैमासिक अवधि चालू आर्थिक वर्षको पहिलो ६ महिनासम्म ३ अर्ब २५ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.५० प्रतिशत बढी हो।
गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब ५ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी सामान्य घटे पनि सञ्चालन मुनाफा बढेका कारण बैंकको खुद नाफा वृद्धिमा सघाएको हो। बैंकको खुद नाफा र प्रतिसेयर आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको विवरणमा उल्लेख छ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.३३ प्रतिशत घटेको छ भने खुद फी तथा कमिसन आम्दानी ९.७४ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ४.६९ प्रतिशत र सञ्चालन मुनाफा १.७२ प्रतिशत बढेको छ।
बैंकको वितरणयोग्य मुनाफा घटेर २ अर्ब ४२ करोड ६६ लाख रुपैयाँमा सीमित भएको छ। वितरणयोग्य प्रतिसेयर आम्दानी १२ रुपैयाँ ७३ पैसा रहेको बैंकको नाफासँगै प्रतिसेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ ४ पैसा बढेर १७ रुपैयाँ ६ पैसा पुगेको छ।
पुससम्म बैंकको प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ २९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १३.२४ गुणा रहेको छ। चुक्ता पुँजी ३८ अर्ब ११ करोड रहेको बैंकको जगेडा कोषमा २८ अर्ब ६९ करोड सञ्चित छ। बैंकले पुससम्म ६ खर्ब ५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ३२ अर्ब कर्जा प्रवाह गरेको वित्तीय विवरणमा उल्लेख गरेको छ।













































































































































































































