बागलुङ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको आयोजनामा सोमबार जिल्लाभित्र सञ्चालित विभिन्न विद्यालय तथा क्याम्पसका बस र भ्यानहरूको सवारी जाँच तथा अनुगमन सम्पन्न गरिएको छ ।
कार्यक्रम अन्तर्गत ३५ वटा स्कुल बस र भ्यानहरूको प्राविधिक अवस्था, आवश्यक कागजात, सुरक्षा मापदण्ड तथा निर्देशिका पालना सम्बन्धी चेकजाँच गरिएको थियो। साथै बसका चालक तथा सहचालकलाई स्कुल बस सञ्चालन निर्देशिका सम्बन्धी विस्तृत जानकारी गराउँदै दुर्घटना न्यूनीकरण सम्बन्धी विशेष प्रशिक्षण प्रदान गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी वरिष्ठ नायव निरीक्षक मिनबहादुर कुवँरले स्कुल बसहरूमा बालबालिकाको सुरक्षा सर्वोपरि विषय भएको उल्लेख गर्दै सवारी साधन सञ्चालन गर्दा उच्च सतर्कता अपनाउन चालक–सहचालकलाई निर्देशन दिनुभयो ।
उहाँले भन्नुभयो, “विद्यालय जाने बालबालिकाको सुरक्षामा कुनै प्रकारको लापरवाही सह्य हुँदैन । निर्धारित मापदण्ड पूर्ण रूपमा पालना गरी जिम्मेवारीपूर्वक सवारी सञ्चालन गर्न आवश्यक छ ।”
उक्त अनुगमन तथा प्रशिक्षण कार्यक्रमले विद्यालय बस सञ्चालनलाई थप व्यवस्थित, सुरक्षित र जिम्मेवार बनाउने विश्वास लिइएको प्रहरीले जनाएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयले यस्ता सचेतनामूलक तथा निगरानी कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ ।
आर्दशसंचारबाट


















































































































































































































