३ श्रावण २०८३, आईतवार

 

प्रशासनले भन्यो – बागलुङमा ग्यासको अभाव छैन

बागलुङ । केही दिनयता बागलुङ बजारमा खाना पकाउने ग्यास अभाव भएको भन्ने हल्ला बाहरिए पनि जिल्लामा ग्यासको अभाव नरहेको जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ । प्रशासनको नेतृत्वमा मंगलबार गरिएको बजार अनुगमनबाट ग्यास स्टोर तथा विक्रेताहरूसँग पर्याप्त मौज्दात रहेको प्रशासनको जनाएको छ ।

प्रशासन कार्यालयको नेतृत्वमा, बागलुङ नगरपालिका, राष्ट्रिय उपभोक्ता मञ्च बागलुङ, बागलुङ उद्योग वाणिज्य संघ, जिल्ला प्रहरी कार्यालय बागलुङ, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बागलुङ र नेपाल पत्रकार महासंघ बागलुङ शाखाद्धारा संयुक्त अनुगमन गरिएको थियो ।

अनुगमनका क्रममा बजारका ग्यास विक्रेता पसलहरुमा प्रयाप्त मात्रामा ग्यास रहेको पाईएको हो । बागलुङ बजार विभिन्न ग्यास विक्रेताका स्टोर तथा गोदाममा पुगेर मौज्दात अवस्था, विक्री वितरण र मूल्यसूचीको अवस्थाबारे निरीक्षण गरिएको थियो ।

अनुगमनका क्रममा दैनिक उपभोगका लागि आवश्यक एलपी ग्यास सिलिन्डर पर्याप्त संख्यामा उपलब्ध रहेको र वितरण प्रक्रिया नियमित रुपमा चलिरहेको पाइएको जिल्ला प्रशासन कार्यालय बागलुङका नायव सुब्बा रामप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

पछिल्ला केही दिनदेखि उपाभोक्ता र सामाजिक सञ्जालको माध्यमबाट ग्यास सकिन लागेको साथै आपूर्ति बन्द हुने जस्ता हल्ला फैलिएको कारण बजार क्षेत्रमा यसको अभाव हुन नदिनको लागि प्रशासनले अनगुमन गरेको थियो । अनुगमनका क्रममा केही उपभोक्ताले आवश्यकता भन्दा बढि खरिद गरेको समेत पाईएको उपाध्यायले बताउनुभयो ।

अनुगमन पश्चात जिल्ला प्रशासन कार्यालयले यस्तो हल्लामा विश्वास नगर्न उपभोक्तालाई आग्रह गरेको छ । “हाल बागलुङ बजारमा ग्यासको आपूर्ति नियमित रहेछ, सबै विक्रेताकोमा हामीले अनुगमन गरियो त्यहाँ मौज्दात पर्याप्त छ, उपाध्यायले भन्नुभयो,–‘एक दुई दिनमा फेरी नयाँ आउने पनि व्यवसायीले जानकारी दिएका छन् ।

उहाँले हामीले पोखराको डिपोमा फोन गरेर बागलुङका लागि ग्यासको अभाव हुन नदिन आग्रह गरेका छौँ । डिपोले पनि नियमित पठाउने सहमती जनाएको र अभाव हुन्छ भनेर अनावश्यक रूपमा भण्डारण गर्न आवश्यक नभएको बताउनुभयो । ” साथै अनुगमनका क्रममा आम उपभोक्ताबाट ग्यास अभाव सम्बन्धी औपचारिक गुनासो नआएको बताउनुभयो ।

ग्यास विक्रेताहरूले पनि आपूर्ति प्रणाली सामान्य अवस्थामा रहेको बताएका छन् । भारतबाट आयात हुने एलपी ग्यास नियमित रुपमा डिपोमा आइरहेको र माग अनुसार विक्रेताकोमा पुगेको र वितरण भइरहेको उनीहरूको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालयले बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने वा मूल्यभन्दा बढी रकम असुल गर्ने गतिविधि भेटिएमा कडा कारबाही गरिने चेतावनी दिएको छ । अनुगमनलाई निरन्तरता दिइने र आवश्यक परे थप टोली खटाइने प्रशासनले जनाएको छ । अहिले बागलुङ बजारमा ग्यासको आपूर्ति तथा बिक्री वितरणमा कुनै समस्या नरहेको बजार अनुगमन टोलीले जनाएको छ ।

पिपुल खबरबाट

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung