बागलुङ । प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ का लागि बागलुङ क्षेत्र नं २ अन्तर्गतको एक मतदान केन्द्रका मतदान अधिकृतलाई जिम्मेवारीबाट हटाइएको छ ।
निर्वाचन अधिकृतको कार्यालय बुर्तिबाङका अनुसार रमुवा आधारभूत विद्यालयको मतदान केन्द्र, गलकोटमा खटाइएका मतदान अधिकृत प्रकाश गैरेलाई जिम्मेवारीबाट हटाइएको हो ।
मतदान अधिकृतहरुको व्हाट्सएप समूहमा उनले लेखेका केही अभिव्यक्ति तथा गतिविधिले निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयतामा नकारात्मक प्रभाव पर्न सक्ने देखिएपछि उक्त निर्णय गरिएको जनाइएको छ ।
निर्वाचन अधिकृत भीम प्रसाद सुवेदीद्वारा जारी पत्रमा निर्वाचनसम्बन्धी जनशक्ति व्यवस्थापन निर्देशिका–२०८२ अनुसार मतदान अधिकृतले गर्न नहुने किसिमका गतिविधि गरेको देखिएकाले जिम्मेवारीबाट हटाइएको उल्लेख गरिएको छ ।
पत्रमा गैरेलाई आफ्नो जिम्मामा रहेका मतपत्र लगायत मतदान सामग्री तुरुन्तै सुरक्षा निकायलाई बुझाउन र निर्वाचन अधिकृतको कार्यालयमा सम्पर्क गर्न निर्देशन दिइएको छ ।
उक्त निर्णयको जानकारी निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङ, जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय तथा सम्बन्धित निकायलाई समेत गराइएको कार्यालयले जनाएको छ ।














































































































































































































