३ श्रावण २०८३, आईतवार

 

जेसीज कपः कालि जंग गणको विजयी सुरुवात

बागलुङ। चौथो संस्करणको जेसीज कप फुटबल प्रतियोगितामा नेपाल आर्मीको कालि जंग गणले विजयी सुरुवात गरेको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा सोमबार कालिजंगले हाइकर्स युनाइडेट बागलुङलाई ४–१ गोलअन्तरले पराजित गर्यो । कालि जंगको जितमा दिपेन दियाल नायक बन्नुभयो । उहाँले ह्याट्रिक सहित चार गोल गर्दै कालिजंगलाई क्वाटरफाइनलमा प्रवेश गराउनुभयो ।

खेलको पहिलो मिनेटमै गोल गर्नुभएका दिपेनले खेलको २२औँ मिनेट र ५१ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गर्नुभएको थियो । उहाँले खेलको ६० औैं मिनेटमा टिम र आफ्नो चौथो गोल गर्नुभयो । हाइकर्सको लागि खेलको ४५ औं मिनेटमा रोहन जिसीले गोल गर्नुभएको थियो ।

बागलुङ जेसीजको आयोजितामा संचालित प्रतियोगिताका १४ टिमको सहभागिता रहेको छ । फागुन २८ गतेसम्म संचालन हुने प्रतियोगिताका सम्पूर्ण खेलहरु बागलुङ नगरपालिका–१ स्थित बाङ्गेचौर खेलमैदानमा हुनेछन् ।

प्रतियोगितामा भोली मंगलबार दुई खेल हुने प्रतियोगिताका संयोजक सुभम राजभण्डारीले बताउनुभयो । उहाँले मंगलबारको पहिलो खेल ७–८ फुटसल र आदर्श विद्यामन्दिर विच हुनेछ भने दोस्रो खेल बागलुङ स्पोर्टस क्लब र बागलुङ कालिका युवा क्लबबिच हुने बताउनुभयो ।

प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले १ लाख रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने जेसीज बागलुङका अध्यक्ष अन्जिला श्रेष्ठले बताउनुभयो ।

यस्तै प्रतियोगिताको सेमिफाइनल पुग्ने टिमले नगद १२ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने अनुशासित टिम र सर्वोत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

यस्तै विधागत तर्फ प्रतियोगिताको सर्वाधिक गोलकर्ता, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलरक्षकले नगद ५–५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने बागलुङ जेसीजले जनाएको छ ।

खबरवेबाट

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung