३ श्रावण २०८३, आईतवार

 

बागलुङका एक लाख ३६ हजार पशुलाई खोप

बागलुङ । बागलुङका ६ वटा स्थानीय तहका १ लाख ३६ हजार ७ सय ८१ पशुलाई विभिन्न रोग विरुद्धको खोप लगाइएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय बागलुङले कृषकका घर तथा खर्क र चरनक्षेत्रमै पुगेर पशुलाई खोप लगाएको हो ।

बागलुङको ढोरपाटन नगरपालिका, गलकोट नगरपालिका, निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका, बडिगाड गाउँपालिका र ताराखोला गाउँपालिकाका गाई, भैसी, बाख्रा, भेडा, बंगुर र कुकुरलाई विभिन्न रोगको खोप लगाइएको हो ।

६ स्थानीय तहका १६ हजार २ सय २६ घरपरिवारसँगै सार्वजनिक कुकुरलाई समेत खोप लगाइएको हो । १७ हजार ३ सय ६५ गाई, २७ हजार ५२ भैसी र ८ सय ३० वटा बंगुरलाई खोरेत विरुद्धको खोप लगाइएको छ ।

खोरेत रोगका कारण पशुको मुखभित्र, खुट्टा, र स्तनमा फोका आउँने र दूध उत्पादन घट्दा कृषकमा वर्षेनी हुने गरेको आर्थिक क्षतिको रोकथाम गर्दै पशुको रोग प्रतिरोधात्मक क्षमता विकास गर्ने तथा दूध, मासु र प्रजनन क्षमतामा समेत वृद्धि गराउने उद्देश्यका साथ अभियान सञ्चालन गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय बागलुङका प्रमुख डाक्टर ऋषिराम सापकोटाले बताउनुभयो ।

खोप लगाउँदा पशुको शरीरमा एन्टिबडी बन्ने भएकाले खोरेत भाइरस विरुद्ध प्रतिरोध हुने, विभिन्न जोखिम कम गर्ने, किसानलाई नोक्सानीबाट बचाउने र उत्पादनमा समेत वृद्धि हुने उहाँको भनाइ छ । तेसैगरी ६९ हजार ४ सय ८४ बाख्रा र १३ हजार ३ सय ७९ भेडालाई पिपिआर खोप लगाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय बागलुङका प्रविधि अधिकृत केशव पौडेलले जानकारी दिनुभयो ।

भेडाबाख्रामा हुनसक्ने घातक रोगबाट बचाएर पशुपालनमा हुन सक्ने आर्थिक नोक्सानीलाई रोक्नका लागि ढोरपाटन र निसीखोलाका चरनक्षेत्रमै पुगेर खोप लगाइएको पौडेलको भनाइ छ । खोप लगाइएका भेडाबाख्रामा उच्च ज्वरो, आँखा र नाकबाट पानी झर्ने, मुखभित्र घाउ र दादुरा, खाना खान नसक्ने, पखाला र निमोनिया तथा विभिन्न कारणले हुनसक्ने मृत्युको दरसमेत घट्ने उहाँको भनाइ छ ।

पश्चिम बागलुङका घरपालुवा र सामुदायिक गरेर ७ हजार ७ सय ७४ कुकुरलाई रेविज विरुद्धको खोप लगाइएको छ । रेविज विरुद्धको खोप कुकुरलाई लगाएपनि यसबाट मानिसलाई समेत घातक रोगबाट बचाउने उद्देश्यका साथ खोप लगाइँदै आएको छ । कुकुरलाई लगाइने यो खोपले कुकुरको रेविज रोक्ने, मानिस र समाजलाई समेत सुरक्षित राख्न मद्दत गर्दछ ।

तेसैगरी ८ सय ९७ बंगुरलाई अत्यन्तै संक्रामक रोग नियन्त्रणका लागि लगाइने सिएसएफ खोप लगाइएको छ । २४ जना महिला र २५ जना पुरुष गरी ४९ जना खोपकर्ता खटाएर कृषकका घरदैलोमै पुगेर खोप अभियान सम्पन्न गरिएको डाक्टर सापकोटाले बताउनुभयो ।

पहिलो चरणको अभियानमा पश्चिम बागलुङका ६ स्थानीय तहमा खोप अभियान सम्पन्न गरेर दोस्रो चरणको अभियान बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका, जैमिनी नगरपालिका र बरेङ गाउँपालिकामा वैशाख १ गतेदेखि सञ्चालन गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय बागलुङका प्रविधि अधिकृत केशव पौडेलले जानकारी दिनुभयो ।

वैशाख मसान्तसम्ममा अभियान सञ्चालन भइरहेका बाँकी ४ वटा स्थानीय तहका पनि सबै पशुमा खोप पु¥याएर सक्ने लक्ष्य रहेको पौडेलको भनाइ छ । जसका लागि ३५ प्राविधिकहरू वडा–वडामा खटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung