३ श्रावण २०८३, आईतवार

 

विकास र समृद्धिको यात्रामा बागलुङ नगरको चार वर्ष : मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने

बागलुङ । बागलुङ नगरपालिकाले आफ्नो चौथो वार्षिकोत्सवको अवसरमा विशेष कार्यक्रम आयोजना गर्न थालेको छ । नगरपालिकाले “विकास र समृद्धिको यात्रामा हाम्रो चार वर्ष” विषयक अन्तरक्रिया कार्यक्रम गर्न लागेको छ ।

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेको प्रमुख आतिथ्यतामा बुधबार बागलुङ बजारको जोजोलपा ब्याङक्वेटमा विमर्श कार्यक्रम हुन लागेको हो ।

जनप्रतिनिधिहरुको विगत चार वर्षको कामको समीक्षा तथा समृद्धिको नयाँ रणनीति बारे छलफल र संश्लेषण गरिने छ ।

जसमा विगत चार वर्षमा भएका विकास निर्माण, सेवा प्रवाह, पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन, नगरका गौरवका आयोजना तथा समृद्धिसँग सम्बन्धित उपलब्धिहरू प्रस्तुत गरिने बागलुङ नगरपालिकाका मेयर बसन्त कुमार श्रेष्ठले बताउनुभयो ।

नगर प्रमुख  श्रेष्ठले सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी तथा सर्वसाधारणलाई कार्यक्रममा उपस्थित भई सफल बनाउन आग्रह गर्नुभएको छ ।

कार्यक्रममा जनप्रतिनिधि, सरोकारवाला निकाय, प्रहरी प्रशासन, नागरिक समाज, स्थानीयवासी र संचारकर्मीबीच अनुभव आदान–प्रदान र आगामी विकास यात्रा र आगामी योजनाबारे अन्तरक्रिया गरिने बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरी पौडेलले नयाँ विश्वलाई जानकारी दिनुभयो ।

कार्यक्रममा संघायी सांसद र गण्डकी प्रदेशका उपसभामुख विना कुमारी थापा, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री गोविन्द नेपाली, आर्थिक मामिला मन्त्री जितबहादुर शेरचन र प्रदेश सांसदहरु र विभिन्न पालिकाहरुका प्रमुख र उपप्रमुखहरुको समेत उपस्थिति रहने भएको छ ।

नगरपालिकाको विगत चार वर्षका महत्वपूर्ण समय र कामहरु झल्कने फोटो प्रदर्शनी, नगरपालिकाको डकुमेन्ट्री प्रदर्शनी, फोटो बुकको अनावरण र नगरपालिकाको उत्कृष्ठ कार्य गर्ने कर्मचारीहरुको सम्मानको कार्यक्रम तय गरिएको नगरपालिकाका प्रशासन प्रमुख भिमसेन पन्तले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung