३ श्रावण २०८३, आईतवार

 

बागलुङमा युगकवि सिद्धिचरण श्रेष्ठको ११५औँ जन्मजयन्ती मनाइयो

बागलुङ । युगकवि सिद्धिचरण श्रेष्ठको ११५औँ जन्मजयन्ती मनाइएको छ । विद्यामन्दिर पुस्तकालय, बागलुङले शनिबार आयोजना गरेको जन्मजयन्ती समारोहमा नेपाली साहित्यमा युगकवि श्रेष्ठको योगदानबारे विमर्शसहित रचना वाचन गरिएको थियो ।

विद्यामन्दिर पुस्तकालयका पूर्वअध्यक्ष मुकेशचन्द्र राजभण्डारीले “कवि सिद्धिचरण श्रेष्ठ कान्तिको बयान गर्ने कवि, लेखक, सम्पादक, शिक्षक र आन्दोलनकारी समेत भएको” बताउनुभयो ।

“गणेशमान सिंहलाई जेलमा बस्दा मनोवैज्ञानिक रुपमा प्रशिक्षण गरेर गणेशमानलाई गणेशमान बनाउन महत्वपूर्ण भूमिका निर्भाह गरेका श्रेष्ठले छ दशक नेपाली र नेवारी साहित्यको विकासमा योगदान दिएको” उहाँको भनाई थियो । “सिद्धिचरणलाई युगकविको उपमा जनस्तरबाट दिइएको” उल्लेख गर्नुभयो ।

साहित्यकार एवं विद्यामन्दिर पुस्तकालयका संरक्षक समितिका सदस्य प्रेम छोटाले “सिद्धिचरणले सात सालको का्रन्तिमा कविताको माध्यमबाट परिर्वतनको पक्षमा आवाज उठाउनु भएको” बताउनुभयो ।

“सरकारी स्तरबाट नभई जनस्तरबाट उहाँलाई युगकवि भनिएको हो”, छोटाले भन्नुभयो, “सिद्धिचरण प्रगतिशील र यथार्थवादी कवि हुनुहुन्थ्यो ।”

पुस्तकालयका कार्यवहाक प्रमुख संरक्षक लालचन्द्र राजभण्डारीले “सिद्धिचरण श्रेष्ठका रचना सबै उमेरका पाठकलाई पढाउनु पर्ने ” बताउनुभयो । “सिद्धिचरण समाज परिवर्तनको पक्षमा पैरवी गर्ने सर्वसाधारणका कवि भएको” साहित्यकार काजि रोशनले बताउनुभयो ।

सो समारोहमा साहित्यकार चन्द्रबहादुर क्षेत्री, रामचन्द्र शर्मा  ‘उन्मुक्त’ गोविन्द सुवेदी र पुष्पिका सुवेदीले रचना सुनाएका थिए । प्रतियोगितात्मक कविता गोष्ठीमा कवि चन्द्रबहादुर क्षेत्री प्रथम र कवि गोविन्द सुवेदी द्धितीय भएका थिए ।

पुस्तकालयले साहित्य उपसमिति नै गठन गरेर साहित्य प्रवद्र्धनमा अगुवाई गर्दै आएको छ ।कार्यक्रम विद्यमान्दिर पुस्तकालयका अध्यक्ष रामचन्द्र शर्माको अध्यक्षता र साहियकार गोविन्द सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung