३ श्रावण २०८३, आईतवार

 

आदर्श कप फुटबल प्रतियोगिता जेठ १८ देखि

बागलुङ । आदर्श विद्यामन्दिर खेलकुद क्लबको आयोजनामा तेस्रो संस्करणको “आदर्श कप फुटबल प्रतियोगिता” आगामी जेठ १८ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने भएको छ ।

प्रतियोगिता बागलुङस्थित बाङ्गेचौर खेलमैदानमा आयोजना गरिने आयोजकले जनाएको छ ।बागलुङ नगरपालिका स्तरीय प्रतियोगितामा पुरुषतर्फ १९ र महिलातर्फ आठ टिमको सहभागिता रहने आज आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष राजेश केसीले जानकारी दिए ।

पुरुषतर्फ विजेता हुने टिमले नगद रु ७५ हजार सात सय ५० र उपविजेताले रु ३७ हजार सात सय ५० प्राप्त गर्नेछ । महिलातर्फ हुने प्रतियोगिताको विजेता टिमले रु ४० हजार र उपविजेताले रु  २० हजार पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।

सेमिफाइनलमा पुग्ने पुरुषतर्फका दुवै टिमले जनही रु २४ हजार र महिलातर्फका दुवै टिमले जनही रु १२ हजार प्राप्त गर्नेछन् ।

प्रतियोगितामा पुरुषतर्फको उत्कृष्ट टिमलाई नगद रु १० हजार, उत्कृष्ट खेलाडीलाई रु १० हजार, उत्कृष्ट फरवार्डरलाई रु पाँच हजार, उत्कृष्ट मिडफिल्डरलाई रु पाँच हजार, उत्कृष्ट डिफेन्डर रु पाँच हजार, उत्कृष्ट किप्परलाई रु पाँच हजार र उत्कृष्ट कोचलाई रु पाँच हजार प्रदान गरिने भएको छ ।

यस्तै म्यान अफ् द म्याच, बेष्ट गोल अवार्ड पनि प्रदान गरिने छ । महिलातर्फको प्रतियोगितामा पनि विभिन्न विधामा उत्कृष्ट हुने खेलाडी तथा टिमलाई पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष केसीले बताए । प्रतियोगिता सञ्चालन गर्न रु १२ लाख ३२ हजार सात सय ५० खर्च लाग्ने जनाइएको छ ।

युवाहरुमा खेलकुदप्रति आकर्षण बढाउने, प्रतिभावान खेलाडी उत्पादन गर्ने तथा स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लबले जनाएको छ । प्रतियोगितामा जिल्लाभित्र तथा बाहिरका विभिन्न टिमहरुको सहभागिता रहने अपेक्षा गरिएको छ ।

प्रतियोगिताका विजेता तथा उपविजेता टिमलाई नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ । साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता लगायत विभिन्न विधामा समेत पुरस्कारको व्यवस्था गरिएको बताइएको छ ।

प्रतियोगिता सफल बनाउन आवश्यक तयारी तीव्र पारिएको क्लबले जनाएको छ । खेलप्रेमी तथा दर्शकहरुलाई प्रतियोगितामा उपस्थित भई खेलाडीहरुको उत्साहवर्धन गर्न आर्दश विद्यामन्दिर माविका प्रिन्सिपल भुपेन्द्र केसीले बताउनुभयो ।

तस्बिर: खोजिनिति

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung