३ श्रावण २०८३, आईतवार

 

जैमिनी नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा

बागलुङ । बागलुङको जैमिनी नगरपालिका बालमैत्री स्थानीय शासन युक्र नगरपालिका घोषणा भएको छ ।

बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिले निर्धारण गरेका ५१ वटा सूचक पूरा गरेपछि सबै वडालाई बालमैत्री घोषणा पश्चात सोमबार नगरपालिकालाई बालमैत्री स्थानीय तहका रूपमा घोषणा गरिएको हो ।

एक समारोहबीच गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गर्नुभयो । यससँगै बागलुङ जिल्लामा बालमैत्री घोषणा हुने स्थानीय तहको संख्या तीन पुगेको छ । १० स्थानीय तह रहेको बागलुङमा यसअघि बागलुङ नगरपालिका र गलकोट नगरपालिका बालमैत्री स्थानीय तह घोषणा भइसकेका छन् ।

बालमैत्री स्थानीय शासनका मापदण्ड पूरा गर्न नगरपालिकाले पछिल्लो दुई वर्षदेखि सामाजिक विकास र बालमैत्री पूर्वाधार निर्माणमा झण्डै तीन करोड लगानी गरिसकेको जैमिनी नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका उपप्रमुख हरिहर शर्माका अनुसार बालमैत्री पूर्वाधार निर्माण, विभिन्न अन्तरक्रिया कार्यक्रम सञ्चालन तथा वडा तहमा बालमैत्री सहजकर्ता परिचालन गरिएको थियो । बालमैत्री विद्यालय, स्वास्थ्य सेवा, खानेपानी, शौचालय तथा अन्य आधारभूत पूर्वाधारसम्बन्धी सूचकहरू पूरा भएपछि नगरलाई बालमैत्री घोषणा गरिएको उहाँले बताउनुभयो ।

नगरपालिकाले टोल–टोलमा बाल क्लब गठन गर्ने, बालबालिकालाई सामाजिक तथा विकाससम्बन्धी गतिविधिमा सहभागी गराउने, बालविवाह र बालश्रम न्यूनीकरण तथा अन्त्यका अभियान सञ्चालन गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको छ ।

उपप्रमुख शर्माले बालमैत्री घोषणा उपलब्धिको अन्तिम बिन्दु नभई दीगो अभ्यासको सुरुआत भएको बताउँदै आगामी दिनमा बालमैत्री शासन प्रणालीलाई थप प्रभावकारी बनाउन रणनीतिक योजना कार्यान्वयन गरिने जानकारी दिनुभयो ।

नगरपालिकाले अब सञ्चालन हुने विकास निर्माण तथा सेवा प्रवाहका सबै गतिविधिलाई बालमैत्री अवधारणाअनुसार अगाडि बढाइने जनाएको छ। बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागितासम्बन्धी अधिकारलाई स्थानीय तहको नीति, संरचना, प्रणाली, कार्यप्रक्रिया र व्यवहारमा संस्थागत गर्ने उद्देश्यका साथ बालमैत्री शासन अभियान सञ्चालन गरिएको हो ।

नगरपालिकाले विसं २०७९ मा नीतिगत निर्णय गर्दै बालमैत्री शासनयुक्त नगरपालिका निर्माण अभियान सुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung