२३ जेष्ठ २०८३, शनिबार

 

राजश्व सुधार योजना बनाउदै बागलुङ नगरपालिका

बागलुङ । बागलुङ नगरपालिका राजश्व सुधार कार्ययोजना निर्माणमा सक्रिय बनेको छ । नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजनाको सहयोगमा नगरपालिकाका जनप्रतिनिधीहरु, राजश्व शाखा सहितका कर्मचारीहरु र वडा सचिवहरुवीच बुधबार अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

अन्तक्रियाका सहजकर्ता सर्वजनिक वित्त व्यवस्थापन विज्ञ दामोदर गिरीले बागलुङ नगरपालिकाले ठोस योजना बनाएर दृढ इच्छा शक्तिका साथ योजना कार्यान्वयन गर्न सके राजश्व संकलनमा उल्लेख्य प्रगति गर्न सक्ने प्रशस्त आधारहरु रहेको उल्लेख गर्दै राजश्व संकलनका कानुनी आधारहरु प्रस्तुत गर्नुभयो ।

उहांले विकास र सेवाको सम्बन्ध राजश्वसंग सम्बन्धित रहेको चर्चा गर्दै कर्मचारी र जनप्रतिनिधीहरुको क्षमता विकास गर्दै राजश्व संकलन र बितरणको न्यायोचित योजना तर्जुमा गरी काम गर्न आग्रह गर्नुभयो ।

नगरपालिकाले लक्ष्य अनुसारको राजश्व संकलन गर्न नसक्दा वार्षिक बजेट घाटामा जान थालेपछी राजश्व सुधार योजना तर्जुमा गरी काम गर्न लागिएको नगर उप प्रमुख एवं राजश्व परामर्श समितिका संयोजक राजु खड्काले बताउनु भयो ।

राजश्व संकलन र बजेट वितरणका लागि सरोकारवालाहरुको साझा बुझाई जरुरी देखिएको बताउदै अन्तक्रियाबाट आएका सुझावहरुलाई ग्रहण गर्दै आगामी आ.व.बाट लागू गर्ने गरी राजश्व सुधार कार्ययोजना निर्माणमा सहभागीहरुको सहयोगको अपेक्षा गर्नु भयो ।

उहाँले राजश्व संकलनका लागि प्रविधीको प्रयोग गर्दै व्यवसायी तथा आम नागरिकहरुमा राजश्व सचेतना र जनप्रतिनिधी तथा कर्मचारीहरुमा क्षमता विकास जरुरी देखिएको धारणा राख्नु भयो ।

५६ हजार १ सय २ जनसंख्या रहेको नगरपालिकामा राजश्व शाखा, वडा कार्यालयहरुबाट राजश्व संकलन हुदै आएको छ । साथै घुम्तिशिविर र घरदैलो सेवा पनि रहेको छ ।

व्यवसाय संकलनका लागि उद्योग वाणिज्य संघसंगको सम्झैतामा सार्वजनिक निजी साझेदारीबाट पनि कर संकलन भैरहेको छ । घर बहाल कर, व्यवसाय कर, सम्पत्ति कर, सिफारिस दस्तुर, नक्शा पास आदीबाट कर संकलन भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung