बागलुङ । बागलुङका दुई विद्यालयमा पहिलो पटक फुसबल ‘टेबल फुसबल’ खेलको औपचारिक सुरुवात गरिएको छ ।
संघीय सांसद सुशील खड्काको पहलमा नेपाल टेबल फुसबल संघको सहयोगमा बागलुङका २ विद्यालयहरूमा फुसबल टेबल हस्तान्तरण गरिएको हो ।
बागलुङ नगरपालिकाको सहकार्यमा कालिका कन्या मन्दिर माध्यमिक विद्यालय र धौलागिरी बहिरा आवासीय माध्यामिक विद्यालयमा फुसबल टेबल हस्तान्तरण गर्दै खेलको औपचारिक शुभारम्भ गरिएको हो ।
कार्यक्रममा सांसद खड्काले खेलमैदानको अभाव भएका विद्यालय तथा समुदायका लागि फुसबल खेल अत्यन्त उपयोगी रहेको बताउनुभयो ।
उहाँले फुसबल समावेशी, सुरक्षित र सबै उमेर समूहले खेल्न सक्ने खेल भएकाले बालबालिकाको मानसिक विकास, एकाग्रता, समन्वय क्षमता तथा सामाजिक सहभागिता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
बागलुङमा फुसबल खेलको सुरुवातले खेलकुदका क्षेत्रमा नयाँ सम्भावनाका ढोका खुल्ने अपेक्षा समेत उहाँले गर्नुभयो ।
नेपाल टेबल फुसबल संघका संस्थापक तथा महासचिव उमेश घिमिरेले श्रवण अशक्तता भएका विद्यार्थी अध्ययन गर्ने विद्यालयमा फुसबल खेल भित्राइएको सम्भवतः नेपालमै मात्र नभई एसियामै पहिलो भएको जानकारी दिनुभयो । साथै, यसले समावेशी खेल संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पु¥याउने उहाँको भनाइ थियो ।
विद्यालयका शिक्षक तथा विद्यार्थीहरूले नयाँ खेलप्रति उत्साह व्यक्त गर्दै यसले मनोरञ्जनसँगै सीप विकास र सामाजिक घुलमिलमा सकारात्मक प्रभाव पार्ने बताएका छन् ।
बागलुङमा पहिलो पटक भित्रिएको फुसबल खेलले आगामी दिनमा विद्यालयस्तरदेखि समुदायस्तरसम्म लोकप्रियता हासिल गर्ने अपेक्षा गरिएको छ ।









































































































































































































