बागलुङ । बुबा देवी प्रसाद गौतमको स्मृतिमा उहाँका छोराद्वय ओमप्रकाश गौतम कृष्ण र बलराम गौतमले मानव सेवा आश्रम बागलुङलाई सरसफाइ सामग्री सहयोग गर्नुभएको छ।
बागलुङ नगरपालिका–३ लालिगुराँस चोक निवासी सहयोगी मनका धनी दाजुभाइ गौतम इलेक्ट्रोनिक्सका संचालकओमप्रकाश गौतम र न्यू गौतम फेन्सी स्टोर्सका संचालक बलराम गौतमले पितृ स्मरणस्वरूप आश्रममा आश्रित लक्ष्मीनारायण तथा बालगोपालज्यूहरूको सेवा–सुविधा सहज बनाउन आवश्यक सरसफाइ सामग्री सप्रेम अर्पण गर्नुभएको हो। उक्त सामग्री मानव सेवा आश्रम बागलुङकी सञ्चालिका विपना तामाङलाई हस्तान्तरण गरिएको थियो।
गौतम परिवारले मानवीय सेवाभावका साथ गरेको सहयोगले आश्रममा आश्रित व्यक्तिहरूको दैनिक जीवन व्यवस्थापनमा सहयोग पुग्ने विश्वास गरिएको छ। आश्रमले यस सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै सामाजिक उत्तरदायित्व र पितृ सम्मानको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको जनाएको छ।
आश्रम परिवारले देवी प्रसाद गौतमप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माले चिरशान्ति प्राप्त गरोस् र बैकुण्ठवासको कामना गरेको छ। साथै, सहयोगी गौतम परिवारको निरन्तर उन्नति, प्रगति र सुख–समृद्धिको शुभकामना व्यक्त गरिएको छ।
मानव सेवामार्फत पितृप्रतिको सम्मान प्रकट गर्दै गरिएको यस्तो सहयोगले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको छ।








































































































































































































