२७ जेष्ठ २०८३, बुधबार

 

१५ दिनभित्र सार्वजनिक जग्गा अतिक्रमण हटाउन बागलुङ नगरपालिकाको सूचना

बागलुङ । जिल्लाको सबैभन्दा बढी जनघनत्व भएको बागलुङ नगरपालिकाले सरकारी तथा सार्वजनिक जग्गामा भएका अतिक्रमण हटाउन १५ दिने सूचना जारी गरेको छ ।

अतिक्रमण गरी निर्माण गरिएको संरचना र अतिक्रमण जग्गा खाली गर्न सार्वजनिक सूचना जारी गरेको छ ।

नगरपालिकाले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै सरकारी, सार्वजनिक, ऐलानी तथा पर्ती जग्गाको संरक्षण र अतिक्रमण नियन्त्रणका लागि कानूनी प्रकृया शुरु गरेको छ ।

मुलुकी देवानी संहिता, २०७४ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को व्यवस्थाअनुसार सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण गर्ने दायित्व स्थानीय तहको भएकाले तत्काल अतिक्रमण गरिएको जग्गा तथा संरचना हटाउन सूचना जारी गरेको हो ।

नगरपालिकाका अनुसार विभिन्न स्थानमा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी घर, टहरा, पसल, पर्खाललगायत संरचना निर्माण गरिएका कारण सवारी आवागमन, सडक सुरक्षा तथा सार्वजनिक सम्पत्तिको संरक्षणमा समस्या उत्पन्न भएको छ ।

सूचनामा अतिक्रमण गरी निर्माण गरिएका संरचना सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र स्वःस्फूर्त रूपमा हटाई अतिक्रमित जग्गा खाली गर्न सम्बन्धित सबै व्यक्ति, संस्था तथा घरधनीलाई अनुरोध गरिएको छ ।

तोकिएको अवधिभित्र अतिक्रमण हटाइएमा नगरपालिकाले प्रचलित कानूनअनुसार आवश्यक प्रक्रिया अघि बढाई त्यस्ता संरचना हटाउने, भत्काउने वा व्यवस्थापन गर्ने जनाएको छ ।

साथै उक्त कार्यमा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल गरिने बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्माले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung