३१ जेष्ठ २०८३, आईतवार

 

प्रथम धवलागिरि पालिकास्तरीय तेक्वान्दो प्रतियोगिता सुरु

बागलुङ । तेक्वान्दो संघ बागलुङको आयोजनामा प्रथम धवलागिरि पालिकास्तरीय तेक्वान्दो प्रतियोगिता शनिबारदेखि बागलुङमा सुरु भएको छ।

प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य डिल्लीराम सुवेदीले खेलकुदले खेलाडीमा अनुशासन, आत्मविश्वास र नेतृत्व क्षमताको विकास गर्ने बताउनुभयो।

उहाँले स्वस्थ, सक्षम र जिम्मेवार नागरिक निर्माणमा खेलकुदको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै यस्ता प्रतियोगिताले स्थानीय स्तरका प्रतिभावान खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने धारणा राख्नुभयो।

तेक्वान्दो संघ बागलुङका उपाध्यक्ष सुदीप राजभण्डारीका अनुसार धवलागिरि क्षेत्रका आठ पालिकाबाट २४८ जना खेलाडी प्रतियोगितामा सहभागी भएका छन्। दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न तौल समूह र उमेर समूहमा प्रतिस्पर्धा हुने छ।

उद्घाटन समारोहका अवसरमा कभर्ड हल निर्माणका लागि जग्गा व्यवस्थापन तथा भवन निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै संघले बाबुलाल शाक्य र दीपेन्द्र बाँस्कोटालाई सम्मान गरेको छ।

तेक्वान्दो संघ बागलुङकी अध्यक्ष कल्पना श्रेष्ठको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा उपाध्यक्ष सुमन बास्कोटाले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन उपाध्यक्ष सुदीप राजभण्डारीले गर्नुभएको थियो।

प्रतियोगिताले धवलागिरि क्षेत्रका खेलाडीबीच प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्नुका साथै तेक्वान्दो खेलको विकास र विस्तारमा टेवा पुग्ने विश्वास आयोजकले व्यक्त गरेको छ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung