बागलुङ । मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ नगरपालिका–३, रातमाटामा दुई जिप एकापसमा ठोक्किँदा पाँच जना घाइते भएका छन्।
बागलुङ बजारबाट बुर्तिबाङतर्फ जाँदै गरेको लु १ ज २७३९ नम्बरको फोर्स जिप र विपरीत दिशाबाट आउँदै गरेको लु २ च ६२०५ नम्बरको बोलेरो जिप ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा बुर्तिबाङतर्फ जाँदै गरेको फोर्स जिपमा सवार १४ जनामध्ये पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। घाइते हुनेहरूमा निसीखोला गाउँपालिका–४ की १६ वर्षीया रेनु विक, १७ वर्षीया लक्ष्मी सुनार, १७ वर्षीया दिलमाया रसाइली, निसीखोला गाउँपालिका–३ का १५ वर्षीय हिमाल शाही ठकुरी र १७ वर्षीया लक्ष्मी विक रहेका छन्।
घाइतेहरूको धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उनीहरूको अवस्था सामान्य रहेको बताइएको छ।
दुर्घटनापछि दुवै सवारीसाधनका चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान सुरु गरेको छ।








































































































































































































