बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकामा बाख्रा चराउन गएका एक किशोर मृत अवस्थामा फेला परेका छन्।
जिल्लाको ढोरपाटन नगरपालिका–९ जुरे घर भई हाल वडा नं। ५ साहुथोकस्थित मामाघरमा बस्दै आएका १५ वर्षीय अरुण घर्ती मगरको ढुङ्गाले च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ।
आज बिहान करिब ७ बजे बाख्रा चराउन गएका अरुण लामो समयसम्म घर नफर्किएपछि आफन्तले खोजतलास गरेका थिए। खोजीका क्रममा मामाघरदेखि करिब ३०० मिटर उत्तरतर्फ रहेको धो खोलाको किनारमा उनको टाउको तथा ढाडको भाग ढुङ्गाले च्यापिएको अवस्थामा शव फेला परेको हो।
मृतकका मामा टेकबहादुर पुनले दिउँसो इलाका प्रहरी कार्यालय बुर्तिबाङ मा घटनाबारे जानकारी गराएपछि प्रहरी निरीक्षक तिलक मानन्धरको नेतृत्वमा पाँच सदस्यीय प्रहरी टोली घटनास्थलतर्फ खटिएको प्रहरीले जनाएको छ।
घटनाको प्रकृति र मृत्युको कारणबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।








































































































































































































