बागलुङ । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ के (एमडी ३२५) अन्तर्गत धौलागिरि क्षेत्रका लायन्स क्लबका नवनिर्वाचित पदाधिकारीहरूको क्षमता अभिवृद्धि तथा नेतृत्व विकासका लागि ‘क्लब अफिसर्स स्कुलिङ प्रोग्राम’ बुधबार बागलुङमा सम्पन्न भएको छ।
लायन्स वर्ष २०२६–२०२७ लाई लक्षित गरी होटल पीस प्यालेस बागलुङमा आयोजित कार्यक्रममा धौलागिरि क्षेत्रका विभिन्न लायन्स क्लबका अध्यक्ष, सचिव, कोषाध्यक्ष तथा अन्य पदाधिकारीहरूको सहभागिता रहेको थियो।
‘Leading With Purpose’ भन्ने मूल नारासहित सञ्चालन गरिएको कार्यक्रममा लायन्सको संगठनात्मक संरचना, नेतृत्व विकास, सेवा कार्यक्रम सञ्चालन, सदस्यता विस्तार तथा क्लब व्यवस्थापन सम्बन्धी विषयमा प्रशिक्षण प्रदान गरिएको डिष्ट्रिक्ट गभर्नर रमेश अधिकारीले जानकारी दिनुभयो।
नयाँ कार्यकालका पदाधिकारीहरूलाई आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न सक्षम बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
यसबाट क्लबहरूको कार्यसम्पादन थप प्रभावकारी बन्नुका साथै समुदायमा लायन्सका सेवामूलक गतिविधिलाई अझ सशक्त बनाउन सहयोग पुग्ने विश्वास पूर्वडिष्ट्रिक्ट गभर्नर बालकृष्ण बुर्लाकोटीले व्यक्त गर्नुभयो।
कार्यक्रममा प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर विष्णुहरि फुयाल, द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर हसनकुमार गोपाली तथा डिष्ट्रिक्ट एड्मिनिस्ट्रेटर काजीमान गुरुङले नेतृत्व, सेवा र संगठन सुदृढीकरणका विषयमा आफ्ना धारणा राख्नुभएको थियो।
लायन्स इन्टरनेशनलले विश्वभर मानव सेवा, सामाजिक उत्तरदायित्व तथा समुदाय केन्द्रित कार्यक्रम सञ्चालन गर्दै आएको छ। धौलागिरि क्षेत्रमा पनि शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, विपद् व्यवस्थापन तथा मानवीय सेवाका क्षेत्रमा लायन्स क्लबहरू सक्रिय रहँदै आएका छन्।
डिष्ट्रिक्ट सेक्रेटरी गणेश जिसीले सञ्चालन गर्नुभएको कार्यक्रममा डिष्ट्रिक्ट पदाधिकारी, क्षेत्रीय नेतृत्व तथा धौलागिरिका २२ वटा क्लबका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।













































































































































































































