११ असार २०८३, बिहीबार

 

लायन्स क्लब अफ धौलागिरि बागलुङमा पद हस्तान्तरण कार्यक्रम सम्पन्न

लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ के (एमडी ३२५) नेपालमा आबद्ध लायन्स क्लब अफ धौलागिरि बागलुङले पद हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ।

बिहीबार बागलुङस्थित होटल सितल एन्ड पार्टी प्यालेसमा आयोजित कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष राजेश भारीले नवनियुक्त अध्यक्ष मनोज श्रेष्ठलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा क्लबका सदस्यहरू, लायन्सकर्मी तथा विभिन्न सामाजिक व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सो अवसरमा विगत कार्यकालका गतिविधिको समीक्षा गर्दै आगामी कार्यकालमा सञ्चालन गरिने सेवा, नेतृत्व विकास तथा सामाजिक उत्तरदायित्वसम्बन्धी योजनामाथि छलफल गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै डिष्ट्रिक्ट एड्मिनिस्ट्रेटर काजीमान गुरुङले लायन्स इन्टरनेशनलको ‘आइडियल लिडरशिप’ नाराअनुसार नेतृत्व हस्तान्तरणसँगै नयाँ कार्यसमितिले सामाजिक सेवा, मानवीय सहायता, स्वास्थ्य, शिक्षा तथा सामुदायिक विकासका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

डिष्ट्रिक्ट कोअर्डिनेटर राजेशचन्द्र राजभण्डारीले लायन्सको सामाजिक अभियानलाई युवाहरुमा फैलाउन आवश्यक भएको बताउनुभयो ।

त्यस्तै, क्लबका पूर्वअध्यक्ष राजन शाक्यले आगामी वर्ष समुदायका आवश्यकतालाई केन्द्रमा राखेर विभिन्न सामाजिक तथा सेवामूलक कार्यक्रम सञ्चालन गरिने जानकारी दिए।

नवनियुक्त अध्यक्ष मनोज श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन क्लबका तृतीय उपाध्यक्ष विदेश कुमार श्रेष्ठले गरेका थिए।

कार्यक्रममा नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै सामाजिक सेवामार्फत समुदायमा सकारात्मक परिवर्तन ल्याउन सबै सदस्यहरू एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिइएको थियो।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung