१५ असार २०८३, सोमबार

 

कुकुर होस्टेलमा जन्मदिन, मेयर श्रेष्ठले दिए मानवता र पशुप्रेमको सन्देश

बागलुङ । बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठले आफ्नो जन्मदिन सामुदायिक तथा छाडा कुकुर व्यवस्थापनका लागि सञ्चालनमा आएको कुकुर होस्टेलमा पुगेर मनाएका छन्। उनले होस्टेलमा रहेका कुकुरलाई बिस्कुट खुवाउँदै जन्मदिन मनाएका हुन्।

सो अवसरमा नगरप्रमुख श्रेष्ठले सडकमा छाडा छोडिएका कुकुरबाट हुने जोखिम, रेबिजजस्ता रोगको नियन्त्रण तथा कुकुरको सुरक्षाका लागि नगरपालिकाले कुकुर होस्टेल सञ्चालनमा ल्याएको बताए। यस्तो उद्देश्यपूर्ण स्थानमा जन्मदिन मनाउन पाउँदा आफूलाई निकै खुशी लागेको उनको भनाइ थियो।

कार्यक्रमका क्रममा नगरप्रमुख श्रेष्ठले होस्टेलमा कार्यरत रविबहादुर क्षेत्रीलाई चार बोरा चामल, कुकुरको दाना, काइयो तथा अन्य आवश्यक सामग्री हस्तान्तरण गरेका थिए।

हाल ५० वटा छाडा कुकुर राख्ने क्षमता रहेको होस्टेलमा पहिलो चरणमा नगरवासीलाई दुःख दिइरहेका २० वटा सामुदायिक कुकुरलाई उद्धार गरी राखिएको पशु सेवा शाखा प्रमुख मित्रप्रसाद सापकोटाले जानकारी दिए।

कार्यक्रममा नगर उपप्रमुख राजु खड्का, प्रमुख प्रशासकीय अधिकृत ईश्वरी पौडेल, वडा अध्यक्ष ज्ञानेन्द्र गौतम, प्रशासन प्रमुख भीमसेन पन्तसहित नगरपालिकाका कर्मचारी, पत्रकारहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन पशु सेवा शाखा प्रमुख मित्रप्रसाद सापकोटाले गरेका थिए।

बागलुङ नगरपालिकाले मुख्यमन्त्री कार्यालयसँगको साझेदारीमा करिब एक करोड रुपैयाँ लागतमा नगरपालिका–३ स्थित पाँच रोपनी सार्वजनिक जग्गामा कुकुर होस्टेल निर्माण गरेको हो। होस्टेल निर्माणसँगै जग्गा तारबार गरिएको छ भने उद्धार गरिएका कुकुरको नियमित हेरचाहसमेत सुरु गरिएको छ।

नगरपालिकाले दुई वर्षअघि नै आफ्नो नीति तथा कार्यक्रममा सामुदायिक कुकुर व्यवस्थापनका लागि कुकुर होस्टेल निर्माण गर्ने योजना समावेश गरेको थियो।

यस परियोजनाले सडकमा छाडा कुकुरको समस्या न्यूनीकरण, रेबिज नियन्त्रण तथा पशु कल्याणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको नगरपालिकाले जनाएको छ।

बागलुङ नगरपालिकाले मुख्यमन्त्री कार्यालयको साझेदारीमा रु १ करोड लागतमा कुकुर होस्टेल बनाएर कुकुर राख्न थालिएको हो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung