२१ असार २०८३, आईतवार

 

रोटरी क्लब अफ पोखराको १७औँ पदस्थापन समारोह सम्पन्न

बागलुङ । रोटरी क्लब अफ पोखराले आफ्नो १७औँ पदस्थापन समारोह शुक्रबार पोखरामा सम्पन्न गरेको छ । समारोहमा रोटरी वर्ष २०२६/२७ का अध्यक्ष रोटरी राजकुमार गुरुङको नेतृत्वमा गठित १९ सदस्यीय नयाँ कार्यसमितिलाई औपचारिक रूपमा पदस्थापन गराइएको थियो ।

समारोहका प्रमुख अतिथि रोटरी इन्टरनेसनल डिष्ट्रिक्ट ३२९२ (नेपाल तथा भुटान) का डिष्ट्रिक्ट गभर्नर इलेक्ट डा. ईश्वरी प्रसाद ढकालले क्लबले विगत १६ वर्षदेखि सामाजिक सेवा, सामुदायिक हित तथा नेतृत्व विकासका क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्दै आगामी कार्यकाल सफलताको शुभकामना व्यक्त गरे।

उनले रोटरी वर्ष २०२६/२७ अन्तर्गत साउन २६ गतेदेखि साताव्यापी एक लाख बिरुवा रोपण अभियान, विभिन्न स्थानमा २० वटा कम्प्युटर ल्याब स्थापना, ३५ वटा ग्लोबल ग्रान्ट परियोजना सञ्चालन, दन्त स्वास्थ्य कार्यक्रम विस्तार तथा क्लबमा १० प्रतिशत नयाँ सदस्य वृद्धि गर्ने लक्ष्य रहेको जानकारी दिए।

सो अवसरमा रोटरी वर्ष २०२५–२६ का अध्यक्ष अमृतराज बाँस्तोलाले अध्यक्ष पद राजकुमार गुरुङलाई औपचारिक रूपमा हस्तान्तरण गर्दै आफ्नो कार्यकालको प्रतिवेदन प्रस्तुत गरेका थिए । नवनिर्वाचित अध्यक्ष गुरुङले आगामी वर्षका प्राथमिकता र सेवा–मुखी कार्यक्रम सार्वजनिक गर्दै शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा सामुदायिक विकासलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

क्लबका संस्थापक अध्यक्ष रवी प्रसाद बरालले नवअध्यक्ष गुरुङको परिचय गराउँदै क्लबको स्थापना कालदेखि हालसम्मका गतिविधिबारे जानकारी गराएका थिए। त्यस्तै पूर्वअध्यक्ष रामविक्रम अधिकारीले प्रमुख अतिथि डा. ढकालको परिचय प्रस्तुत गरेका थिए।

क्लबका प्रेसिडेन्ट इलेक्ट पुष्कराज पराजुलीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा धन्यवाद ज्ञापन पूर्वअध्यक्ष गीता सिग्देलले गरेकी थिइन् भने कार्यक्रम सञ्चालन क्लबका सचिव वर्षा केशव पराजुलीले गरेका थिए ।

कार्यक्रममा रोटरी इन्टरनेसनल डिष्ट्रिक्ट ३२९२ का पदाधिकारी, विभिन्न रोटरी क्लबका अध्यक्ष तथा प्रतिनिधि, सञ्चारकर्मी र समाजसेवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung