बागलुङ । प्रतिनिधि सभाको आजको शून्य समयमा आफ्नो धारणा राख्दै माननीय सांसद सुशील खड्काले सरकारले डिजिटल सेवा प्रवाहका लागि थालेका प्रयासहरू सकारात्मक भए पनि व्यवहारमा नागरिकले अझै झन्झट, ढिलासुस्ती र अनावश्यक सास्ती भोग्नुपरेको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ।
उहाँले बागलुङ जिल्लाको नापी कार्यालयको सर्भर तीन दिनदेखि बन्द रहेको तथा सम्बन्धित प्राविधिक कर्मचारीसँग समेत सम्पर्क हुन नसकेको उदाहरण प्रस्तुत गर्दै यस्ता प्रणाली प्रभावकारी रूपमा सञ्चालन नहुँदा सेवाग्राही प्रत्यक्ष रूपमा मारमा पर्ने गरेको उल्लेख गर्नुभयो ।
सांसद खड्काले विशेषगरी दुर्गम क्षेत्रका नागरिकले सरकारी सेवा लिन अझ बढी कठिनाइ भोगिरहेको धारणा व्यक्त गर्नुभयो। उहाँले कर तथा राजस्व तिर्न जाँदा समेत सेवाग्राहीले अपमान र अनावश्यक झन्झट व्यहोर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै, डिजिटल प्रणालीको चर्चा भए पनि राजस्व भुक्तानीका लागि अझै नगद ९नोट० नै प्रयोग गर्नुपर्ने विडम्बना रहेको बताउनुभयो ।
त्यसैगरी, संस्था वा व्यवसाय दर्ता तथा नवीकरणका लागि कर कार्यालय, वडा कार्यालय, कम्पनी रजिस्ट्रार, जिल्ला प्रशासन कार्यालय, समाज कल्याण परिषद् लगायतका विभिन्न सरकारी निकायमा एउटै कागजात बोकेर पटक(पटक धाउनुपर्ने बाध्यता रहेको उहाँले उल्लेख गर्नुभयो।
काठमाडौंमै यस्तो प्रक्रियामा करिब रु। १ लाखसम्म प्रत्यक्ष खर्च हुने र त्यसको कैयौं गुणा बढीअप्रत्यक्ष आर्थिक तथा समयगत क्षति हुने अवस्था रहेको उहाँले औंल्याउनुभयो। गाउँ तथा दुर्गम क्षेत्रबाट सेवा लिन आउनुपर्ने नागरिकका लागि यो लागत अझ बढी हुने उहाँको भनाइ थियो ।
उहाँले डिजिटल सेवाको वास्तविक उद्देश्य स्मरण गराउँदै भन्नुभयो, डिजिटल सेवाको अर्थ नागरिकले एउटै कागजात पटक(पटक विभिन्न कार्यालयमा बुझाउनु होइन, बरु घरमै बसेर आधा घण्टाभित्र आवश्यक सबै सरकारी सेवा प्राप्त गर्न सक्ने व्यवस्था हुनु हो।
यसका लागि उहाँले सरकारसँग निम्न व्यवस्था गर्न माग गर्नुभयो । संस्था दर्ता तथा नवीकरणका लागि एकीकृत ९ऋभलतचबष्शिभम० डिजिटल प्रणाली निर्माण गरियोस्। एकपटक एउटै निकायमा बुझाइएका विवरण तथा कागजातका आधारमा सबै सम्बन्धित सरकारी सेवा अनलाइनमार्फत प्राप्त हुने व्यवस्था गरियोस्।
सांसद खड्काले प्रभावकारी डिजिटल शासन, अन्तरनिकाय समन्वय तथा कागजरहित सार्वजनिक सेवा प्रणालीमार्फत मात्र नागरिकमैत्री, पारदर्शी, छरितो र उत्तरदायी सार्वजनिक सेवा प्रवाह सुनिश्चित गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।













































































































































































































