बागलुङ । बागलुङ र पर्वत जिल्लालाई जोड्ने मालढुङ्गास्थित मोटरेबल पुल नदी कटानका कारण जोखिमपूर्ण बनेको छ। अविरल वर्षापछि बढेको नदीको बहावले पुलको पर्वततर्फ रहेको मुख्य पिलरको जग कटान गरेपछि पुलको सुरक्षामाथि प्रश्न उठेको हो।
गएराति नदीको सतह बढेसँगै पुलको जगमा थप क्षति पुगेको र अहिले पनि जग क्षेत्रबाट माटो खसिरहेको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ।
सडक डिभिजन कार्यालय बागलुङका प्रमुख इन्जिनियर हरि सुवेदीका अनुसार पुलको अवस्थाबारे प्रारम्भिक निरीक्षण सम्पन्न गरिएको छ। थप प्राविधिक मूल्याङ्कनका लागि डिभिजन सडक कार्यालय पोखरालाई जानकारी गराइएको उहाँले बताउनुभयो।
मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडकखण्डमा पर्ने मालढुङ्गा पुल यसअघि पनि नदीको धार परिवर्तन र कटानका कारण जोखिममा पर्दै आएको थियो। पुलको जग संरक्षणका लागि निर्माण गरिएको पर्खालसमेत भत्किएपछि पुलमा थप क्षति पुग्न सक्ने जोखिम बढेको छ।
नदीको बहाव निरन्तर बढिरहेको अवस्थामा पुलको जगबाट माटो खस्ने क्रम जारी रहेकाले तत्काल थप क्षति हुन सक्ने आशंका गरिएको छ। पुलमा कुनै गम्भीर क्षति भए बागलुङ–पर्वतसँगै पोखरा–बागलुङ सडकखण्डको यातायातसमेत प्रभावित हुन सक्ने देखिएको छ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईका अनुसार पुलको अवस्थालाई ध्यानमा राख्दै यात्रुबाहक तथा मालवाहक सवारीसाधनलाई उच्च सतर्कतासाथ मात्र सञ्चालन गर्न दिइएको छ।
पुलको जोखिमबारे थप प्राविधिक अध्ययन तथा आवश्यक संरक्षणका काम तत्काल अघि बढाउनुपर्ने अवस्था देखिएको छ।
















































































































































































