२६ श्रावण २०८३, मंगलवार

 

बागलुङमा फरार पाँच प्रतिवादी एकसाथ पक्राउ

बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले पाँच फरार फतिवादीलाई एकसाथ पक्राउ गरेको छ ।

अदालतबाट भएको फैसला कार्यान्वयन गरी जरिवाना असुल गर्न बाँकी रहेका विभिन्न मुद्दाका फरार पाँच प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएका विशेष अपरेसन टोलीले उनीहरूलाई पक्राउ गरी जरिवाना असुलका लागि बागलुङ जिल्ला अदालतमा उपस्थित गराएको हो ।

बागलुङको गलकोट नगरपालिका–६ का २५ वर्षीय प्रमोद भन्ने पवन गौतम, सोही स्थानका ७७ वर्षीय अणदत्त गौतम र ५० वर्षीय महेन्द्र गौतमलाई झुट्टा विवरण पेस गरी दोहोरो नागरिकता लिएको मुद्दामा अदालतबाट भएको फैसला कार्यान्वयनका लागि पक्राउ गरिएको हो ।

गलकोट नगरपालिका–८ का ४५ वर्षीय लालबहादुर दर्जीलाई घरेलु हिंसा मुद्दामा र बरेङ गाउँपालिका–२ का भीमबहादुर श्रीसलाई चेक अनादर मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

सम्मानित अदालतबाट विभिन्न मितिमा फैसला भई जरिवाना भुक्तान गर्न बाँकी रहेका उनीहरूलाई पक्राउ गरी जरिवाना असुलका लागि अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार अदालतका फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन फरार प्रतिवादीको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung