बागलुङ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बागलुङमा आयोजित ‘रन बागलुङ–३’ दौड प्रतियोगिता सम्पन्न भएको छ। लियो क्लब अफ बागलुङ कालीगण्डकी र लायन्स क्लब अफ बागलुङ कालीगण्डकीको आयोजनामा बुधबार प्रतियोगिता सम्पन्न भएको हो।
बागलुङ कालिका मन्दिरको गेटबाट सुरु भएको दौड रामरेखा ट्राफिक चोक, लोकतान्त्रिक चोक, जिप पार्क चोक, श्रीनगरटोल, उपल्लाचौर, रमेटार हुँदै कुँडुलेस्थित शालिग्राम संग्रहालयसम्म पुगेको थियो।
निर्धारित दूरीको दौडमा १ सय २२ जना युवाले सहभागिता जनाएका थिए। प्रतियोगितामा २६ मिनेट २५ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै बादल कार्की प्रथम भए।
यस्तै, २७ मिनेट १ सेकेन्डमा दूरी पूरा गरेका सुदीप सुवेदी द्वितीय र २७ मिनेट २५ सेकेन्डमा दूरी पार गरेका सक्षम बोहोरा तृतीय भए।
लियो क्लब अफ बागलुङ कालीगण्डकीका अध्यक्ष विनोद कार्कीका अनुसार प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले युवाहरू शारीरिक र मानसिक रूपमा सक्षम भए मात्रै देश विकासमा महत्वपूर्ण योगदान गर्न सक्ने बताए।
जेन्जी आन्दोलनपछि युवाहरूको देशमा सुशासन कायम गर्ने जिम्मेवारीसमेत थपिएको उनको भनाइ थियो।
खेलकुदमार्फत भविष्य निर्माण गर्न चाहने युवालाई यस्ता कार्यक्रमले प्रेरणा प्रदान गर्ने श्रेष्ठले बताए।
प्रतियोगितालाई बागलुङ नगरपालिका, एकीकृत सेवा कार्यालय, कालिका भगवती गुठी व्यवस्थापन समिति, रंगवेंकटेश्वर मुक्तिनारायण मन्दिर र खुसी मन नेपालले सहयोग गरेका थिए।
















































































































































































