३१ श्रावण २०८३, आईतवार

 

प्रकाश दुतराजले म्याग्दीबाट सुरु गर्दै ‘नयाँ अभ्यास’

बागलुङ । चर्चित गायक प्रकाश दुतराजले जन्म जिल्ला म्याग्दीबाट आफ्नो सांगीतिक यात्राको नयाँ अभ्यास सुरु गर्ने भएका छन् ।

नेपाली संगीत क्षेत्रमा आधुनिकता र परम्परागत लोकधुनलाई सुन्दर ढंगले संयोजन गर्दै नयाँ स्वाद प्रस्तुत गरिरहेका दुतराजले आफ्नै ‘दुतराज प्रकाश एण्ड नयाँ अभ्यास’ लोक सांगीतिक म्युजिक ब्याण्ड सार्वजनिक गर्न लागेका हुन् ।

ब्याण्ड सार्वजनिक गर्ने अवसरमा म्याग्दी उद्योग वाणिज्य संघले भदौ १२ गते बेनी बजारस्थित खुला मञ्चमा सांगीतिक साँझ आयोजना गर्दैछ ।

निःशुल्क प्रवेशको व्यवस्था गरिएको कार्यक्रममा गायक दुतराजको ‘दुतराज प्रकाश एण्ड नयाँ अभ्यास’को विशेष प्रस्तुति रहनेछ ।

आफ्नो १४ वर्ष पुरानो सांगीतिक सपना गृह जिल्ला म्याग्दीबाट पूरा हुन लागेको भन्दै दुतराजले कार्यक्रममा उपस्थित भएर माया, आशीर्वाद र हौसला प्रदान गर्न सबैलाई आग्रह गरेका छन् ।

शनिबार नेपाल पत्रकार महासंघ बागलुङ शाखामा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नै लाइभ म्युजिक ब्याण्डसहित प्रस्तुति दिने सपना पूरा हुन लागेको बताए ।

उनले आफ्नो सांगीतिक यात्राको नयाँ अध्याय सुरु हुने दिनमा उपस्थित भएर हौसला बढाइदिन आग्रह गरे । दुतराजको म्युजिक ब्याण्डमा देशका विभिन्न जिल्लाका ३५ जनाभन्दा बढी कलाकार आबद्ध रहेको बताइएको छ ।

ब्याण्डमार्फत उनले नेपाली लोकसंगीतका मौलिक धुन, परम्परागत बाजा र आधुनिक संगीतलाई थप व्यवस्थित रूपमा प्रस्तुत गर्ने तयारी गरेका छन् । दुतराजका गीतमा गाउँघरको जीवनशैली, प्रेम, बिछोड तथा सामाजिक भावनाको गहिरो चित्रण पाइन्छ ।

यही कारण उनका सिर्जनाले युवापुस्तामाझ समेत लोकसंगीतप्रतिको आकर्षण बढाएको छ । उनका ‘घर कता हो बैनीको’, ‘रिमाई’, ‘जुन माया’, ‘देउरालीमा’ र ‘मनमाया’ लगायतका गीत चर्चित छन् ।

परम्परागत वाद्ययन्त्र मादल, सारंगी र बाँसुरीलाई आधुनिक गिटार तथा ड्रमसँग संयोजन गर्दै फ्युजन शैलीमा प्रस्तुति दिँदै आएका दुतराजले नयाँ ब्याण्डमार्फत पनि यही सांगीतिक शैलीलाई निरन्तरता दिने बताएका छन् ।

तस्वीर : दिनेश जिसी

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung