बागलुङ । नयाँ विश्वका सम्पादक मुकेशचन्द्र राजभण्डारी टिका-विद्या स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् ।
बागलुङ बजारमा सम्पन्न ढोरपाटन राष्ट्रिक दैनिकको २४औँ वार्षिकोत्सवका अवसरमा सोमबार राजभण्डारीलाई नगद १० हजार रुपैयाँ, सम्मानपत्र र दोसल्लासहित सम्मान गरिएको हो ।
गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गोविन्द नेपाली, बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठ, ढोरपाटन राष्ट्रिक दैनिकका प्रधान सम्पादक हरिनारायण गौतम र समाजसेवी सहदेव राजभण्डारीलाई संयुक्त रूपमा सम्मान गरेका थिए ।
राजभण्डारी विसं २०५५ सालदेखि पत्रकारितामा सक्रिय छन् । उनले स्थानीय पत्रकारिताको विकाससँगै सामाजिक तथा जनसरोकारका विषयलाई सञ्चारमाध्यममार्फत निरन्तर उठाउँदै आएका छन् ।
धवलागिरि वीरेन्द्र माध्यमिक विद्यालयकी पूर्वप्रधानाध्यापक कृष्णमाया अधिकारी राजभण्डारीले आफ्ना बुबा टिकाबहादुर राजभण्डारी र आमा विद्यालक्ष्मी राजभण्डारीको स्मृतिमा उक्त पुरस्कार स्थापना गरेकी हुन् ।
ढोरपाटन राष्ट्रिक दैनिकमार्फत प्रत्येक वर्ष प्रदान गरिने पुरस्कार पत्रकारिता क्षेत्रमा योगदान पुर्याउने पत्रकारलाई प्रदान गरिँदै आएको छ ।
















































































































































































