४ भाद्र २०८३, बिहीबार

 

लायन्स क्लब अफ बागलुङद्वारा कलेजो रोगी पौडेललाई २० हजार सहयोग

बागलुङ । गम्भीर कलेजो रोगबाट पीडित बागलुङ नगरपालिका–९ तित्याङ निवासी सन्तोष पौडेलको उपचारका लागि लायन्स क्लब अफ बागलुङले २० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।

मिर्गौलासँगै कलेजोमा समेत समस्या देखिएपछि पौडेल हाल काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत छन्। चिकित्सकले कलेजो प्रत्यारोपण गर्नुपर्ने अवस्था रहेको जनाएपछि उपचारका लागि ठूलो रकम आवश्यक पर्ने परिवारले जनाएको छ।

सामाजिक सेवामा सक्रिय लायन्स क्लब अफ बागलुङले मानवीय उत्तरदायित्वअन्तर्गत पौडेलको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम उपलब्ध गराएको हो।

क्लबका अध्यक्ष भुपेन्द्र केसीले उपचाररत पौडेलका आफन्त प्रदीप क्षेत्रीलाई २० हजार रुपैयाँ हस्तान्तरण गरेका थिए।

सहयोग हस्तान्तरण कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष दुर्गा कुँवर, पूर्वअध्यक्षहरू केशव सापकोटा र सूर्य चापागाईं तथा प्रथम उपाध्यक्ष तिलबहादुर खड्काको उपस्थिति रहेको थियो।

पौडेलको उपचारमा ठूलो रकम आवश्यक पर्ने भएकाले परिवारले सहयोगका लागि अपिलसमेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung