बागलुङ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङद्वारा सञ्चालित आदर्श सञ्चार डटकमले आफ्नो सातौँ वार्षिकोत्सवको कार्यक्रम स्थगित गरी त्यसका लागि छुट्याइएको खर्च भोटेकोशी बाढीपीडितका लागि सहयोग गरेको छ ।
वार्षिकोत्सवको खर्च तथा सञ्चालक र कर्मचारीबाट संकलित रु। एक लाख एक हजार बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्नेगरी हस्तान्तरण गरिएको हो ।
संस्थाका सल्लाहकार डिलबहादुर कार्की, रुद्रमहत र सुरेशप्रसाद श्रेष्ठ, सचिव सरस्वती खड्का परियार, सञ्चालक अम्बिका जिसी, प्रबन्धक दीपकराज सापकोटा र धौलागिरि जागरण दैनिकका सम्पादक सिर्जना पन्तले प्रमुख जिल्ला अधिकारी आचार्यलाई रकम हस्तान्तरण गर्नुभएको थियो ।
रकम बुझ्दै प्रजिअ आचार्यले सञ्चार क्षेत्रबाट समेत विपद्पीडितको सहयोगमा योगदान हुनु सराहनीय भएको बताउनुभयो । उहाँले प्राप्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने जानकारी दिनुभयो ।
साविक धौलागिरि अञ्चलमा सहकारीमार्फत सञ्चारमाध्यम सञ्चालन गर्ने पहिलो प्रयासका रूपमा स्थापित आदर्श सञ्चार सहकारीको तेस्रो सञ्चारमाध्यमका रूपमा आदर्श सञ्चार डटकम सञ्चालनमा आएको हो । सात वर्षको अवधिमा अनलाइनले सार्वजनिक सरोकार, स्थानीय विकास, सामाजिक समस्या तथा नागरिकका आवाजलाई प्राथमिकताका साथ समाचारमार्फत प्रस्तुत गर्दै आएको जनाएको छ ।
संस्थाले धौलागिरि जागरण दैनिकमार्फत दुई दशक र अग्रसर साप्ताहिकमार्फत डेढ दशक लामो सञ्चार अनुभवपछि डिजिटल पत्रकारितामा प्रवेश गरेको हो । प्रधानसम्पादक रामबहादुर जिसीले प्रविधि र सञ्चारको स्वरूप परिवर्तन भए पनि सत्य, तथ्य र विश्वसनीय सूचना प्रवाह गर्ने उद्देश्यमा परिवर्तन नभएको बताउनुभयो ।
आठौँ वर्ष प्रवेशसँगै विश्वसनीय तथा खोजमूलक पत्रकारितालाई प्राथमिकता दिने, घटनाको कारण र समाधानका सम्भावनासमेत खोज्ने तथा गाउँ–गाउँका नागरिकका आवाजलाई थप महत्व दिने योजना रहेको आदर्श सञ्चार डटकमले जनाएको छ ।
















































































































































































