बागलुङ । बागलुङ नगरपालिकाले धवलागिरि वीरेन्द्र माध्यमिक विद्यालयको प्रधानाध्यापकमा भूमिराज गौतमलाई नियुक्त गरेको छ। नगरपालिकाको शिक्षा शाखाले मंगलबार गौतमलाई प्रधानाध्यापकमा नियुक्त गरेको हो।
नगरपालिकाले गत भदौ ११ गते सामुदायिक विद्यालयमा स्थायी प्रधानाध्यापक नियुक्तिका लागि २३ वटा विद्यालयमा विज्ञापन आह्वान गरेको थियो।
शिक्षा शाखा प्रमुख धनप्रसाद पोखरेलका अनुसार धवलागिरि वीरेन्द्र माध्यमिक विद्यालयको प्रधानाध्यापकका लागि विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजन शर्मा संयोजक रहेको छनोट समितिले गौतमलाई सिफारिस गरेको थियो।

प्रधानाध्यापकमा नियुक्त भएपछि गौतमले आफूमा थप जिम्मेवारीबोध भएको बताउँदै विद्यालयको सिकाइ उपलब्धि वृद्धि, सूचना प्रविधिको प्रयोगलाई प्राथमिकता तथा भौतिक र शैक्षिक सुधारमा केन्द्रित भएर नतिजामुखी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
गौतमलाई प्रधानाध्यापकमा नियुक्त गरिएकोमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजन शर्मालगायत शिक्षक तथा कर्मचारीले बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
शिक्षा नियमावलीको दशौँ संशोधनमा भएको व्यवस्थाअनुसार नगरपालिकाले सामुदायिक विद्यालयका प्रधानाध्यापक व्यवस्थापन कार्यविधिअन्तर्गत विज्ञापन आह्वान गरी प्रधानाध्यापक नियुक्तिको प्रक्रिया अघि बढाएको हो।
नगरपालिकाले एकैपटक ठूलो संख्यामा सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको प्रक्रिया अघि बढाएको यो पहिलो अभ्यास भएको जनाएको छ।
















































































































































































