बागलुङ । विपद् पूर्वानुमानअनुसार भारी वर्षाको सम्भावना बढेपछि बागलुङ नगरपालिकाभित्रका सबै विद्यालय दुई दिनका लागि बन्द गरिएको छ।
बिहीबार अपराह्नदेखि बागलुङसहित देशका विभिन्न भूभागमा भारी वर्षा हुने पूर्वानुमान गरिएसँगै सम्भावित बाढी, पहिरो तथा अन्य विपद्जन्य घटनाको जोखिमलाई दृष्टिगत गरी विद्यालय बन्द गर्ने निर्णय गरिएको हो। बन्द हुने दुई दिनको बिदा अन्य सार्वजनिक बिदामा समायोजन गरिने नगरपालिकाले जनाएको छ।
नगरपालिकाभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयमा आज र भोलि (असोज ८ र ९ गते) स्थानीय बिदा दिइएको शिक्षा शाखा प्रमुख धनप्रसाद पोखरेलले जानकारी दिनुभयो।
मौसम प्रतिकूल बन्दै गएको र विपद्को जोखिम बढेकाले पूर्वसावधानीस्वरूप नगरपालिकाभित्रका सबै विद्यालयमा दुई दिन पठनपाठन स्थगित गर्ने निर्णय गरिएको पोखरेलले बताउनुभयो।
















































































































































































