बागलुङ । प्रतिनिधिसभा सदस्य सोम शर्माले विकास निर्माण र सेवा प्रवाहमा भइरहेको ढिलासुस्ती अहिलेको सरकारलाई स्वीकार्य नभएको बताउनुभएको छ ।
बागलुङ क्षेत्र नं २ बाट निर्वाचित सांसद शर्माले निर्वाचनपछि पत्रकारहरूसँग सुझाव संकलनका लागि आयोजित अन्तरक्रियामा अलपत्र सडक तथा अन्य विकास योजनालाई ठेक्का तोडेर भए पनि अघि बढाउने सरकारको योजना रहेको बताउनुभयो ।
आफ्नो सांसद कार्यकालमा बागलुङमा रोकिएका सबै विकास योजना सम्पन्न गराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै शर्माले नागरिकले सेवा प्रवाहमा सास्ती भोग्न नपर्ने र विद्यालयमा समयमै गुणस्तरीय शिक्षा पाउने वातावरण बनाउनुपर्ने बताउनुभयो ।
“नागरिकले सेवा प्रवाहमा सास्ती खेप्नुभएन, समयमै उपचार र विद्यालयमा गुणस्तरीय शिक्षा पाउनुपर्यो,” शर्माले भन्नुभयो ।
मध्यपहाडी लोकमार्गको बिहुँ खण्डमा निर्माण कार्यको प्रगति बढाउन मन्त्रीको निर्देशन रहेको र तल्लो खण्डमा छिट्टै ठेक्का आह्वान गर्ने गरी काम भइरहेको उहाँले जानकारी दिनुभयो ।
सांसद शर्माले संघीय सांसद सुनिल लम्सालले तीन पटक बागलुङको स्थलगत निरीक्षण गर्नुभएको जानकारीसमेत दिनुभयो ।
अन्तरक्रियामा सहभागी बागलुङका पत्रकारहरूले वर्तमान सरकारसँग नागरिकको अपेक्षा धेरै रहेको उल्लेख गर्दै विकास निर्माणमा भइरहेको ढिलासुस्ती अन्त्य गर्न र स्वास्थ्य क्षेत्रको सुधारमा विशेष ध्यान दिन सांसद शर्मालाई सुझाव दिएका थिए ।



















































































































































































































