२९ बैशाख २०८२, सोमबार

 

नक्सा पास विना बनेका संरचना नियम अनुसार नै हट्छन्–मेयर पौडेल

बागलुङ नगरपालिकाका नवनिर्वाचित प्रमुख (मेयर) जनकराज पौडेलले नगरक्षेत्रमा बनेका मापदण्ड विपरीतका घर संचरनाहरु नियम अनुसार नै हटाउनुपर्ने बताएका छन् ।

धौलागिरी सञ्चार क्लब बागलुङले बुधबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले नगरको दिगो र व्यवस्थित विकासको लागि नक्सा पास विना तथा मापदण्ड विपरित बनेका संरचना हटाउनुको विकल्प नरहेको बताए ।

‘भवन संहिताले तोकेभन्दा बाहिर गएर निर्माण भएको सबै संरचनाहरु हटाउनुपर्छ,’ उनले भने,‘अहिले केही सीमित व्यक्तिको फाईदाका लागि मापदण्ड मिच्दा पछि सधैंका लागि समस्या बल्झिन सक्छ ।’

नगरपालिका कार्यालयबाट नक्सापास नहुँदै घरको जग हालेर निर्माण शुरु नगर्न समेत आग्रह गरेका छन् । ‘आधिकारीक रुपमा नक्सापास नभएसम्म घर निर्माण नगर्न आग्रह गर्छौं,’ पौडेलले भने,‘नक्सा कोरिनु पास हुनु होईन ।’

पौडेलले स्थानीय शासन ऐन नआउँदा काम गर्न समस्या भैरहेको समेत बताए । ‘कसरी काम गर्ने भन्ने गाईडलाईन र ऐन नियमावली बनेर आएको छैन,’ पौडेलले भने,‘तर पनि हामी जनतलाई सहज सेवा प्रदान गर्ने प्रयासमा छौं ।

अहिले सबै वडा कार्यालयहरुको व्यवस्थान गरेका छौं ।’ उनले सहरी यातायातलाई व्यवस्थीत गर्नका लागि वैकल्पीक उपायको खोजी भैरहेको बताए । ‘ट्राफिक व्यवस्थापन चुनौती बन्दै गएको छ,हामी त्यसका लागि उपयुक्त स्थानको खोजी गरिरहेका छौं,’ उनले भने । निर्वाचन आचारसंहिताका कारण रोकिएको विकास कार्यक्रमलाई तिव्रता दिएको उनले बताए ।

‘विकास निर्माणका लागि विनीयोजन भएको बजेट फ्रिज नहोस भन्नका लागि काम तिव्र पारिएको छ,’ उनले भने,‘बजेट सक्ने नाममा कामको गुणस्तर कम नहोस् भन्ने कुरामा म चनाखो छु ।’ उनले बसपार्क निर्माणका लागि कागजी प्रक्रियाहरु अन्तिम चरणमा पुगेको बताए ।

धौलागिरी सञ्चार क्लब बागलुङका संयोजक राजेशचन्द्र राजभण्डारीको अध्यक्षता,  सदस्य सिर्जना पन्तको धन्यवाद मन्तव्य र कृष्ण कँडेलको सञ्चालनमा  कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung