३० बैशाख २०८२, मंगलवार

 

३४ बर्षपछि बागलुङ आएका गायक रामेशले भने ‘जनता नै महान हुन्’

साढे ३ दशक अघि पहिलो पटक बागलुङ आएका गायक तथा संगीतकार रामेश श्रेष्ठ आईतबार दोस्रो पटक यहाँ आए । नयाँ विश्व डटकम अनलाईन पत्रिकाले गरेको उनीसँगको संवाद कार्यक्रमा पञ्चायती शासनको बेला विक्रम संवत २०४० सालमा गीत गाउन पहिलो पटक यहाँ आएको स्मरण गरे ।

‘मन यो चञ्चल, हाम्रो घर धौलागिरी अञ्चल, बागलुङ बजारमा काँ निर झुल्क्यो घाम, पर्खसँगै जाम’ बोलको गीत रामेशको स्वरमा सुरुमै सुन्न पाएपछि सहभागी निकै उत्साहित थिए ।

आधा शताब्दिदेखि जनताका दुःख, संघर्ष र अधिकार प्राप्तीको गीत गाउँदै आएका उनले पहिलो पटक बागलुङ आउँदा रेडक्रसको मान्छे बनेर जनताका गीत गएको सम्झना गर्दै अहिले ढुक्कसँग गाउन पाईएपनि नागरिकका समस्या उस्तै रहेको बताए । ‘हिजो जनताका गीत गाउनेलाई जेल हाल्थे, सुन्नेको कान फुटाईन्थ्यो तर अहिले आफ्नो कुरा सहजै गाउन पाईन्छ’ श्रेष्ठले भने, ‘भारी बोक्ने र बगरको गिट्टि उठाउनेको कुट्नेको जीवन अझै बदलिएको छैन ।’

उनले लोकतान्त्रिक शासन आउँदा पनि नेताहरुको गुण हिजोकै राजा र राणाहरुको जस्तो भएको भन्दै असन्तुष्टि व्यक्त गरे । अहिले पनि जनता, पार्टी र सिद्धान्तलाई अमुक नेताको स्वार्थ पुरा गर्ने साधन मात्र बनाईएको उनको तर्क थियो ।

विमल निभाको रचनामा आफ्नै संगीत रहेको ‘ओ जन्ता महान’ गीत गाउँदै उनले शासन व्यवस्थामा नागरिक नै सर्बशक्तिमान भएको स्पष्ट पारे । ‘देश हाँक्ने शक्तिको स्रोत भनेका तिनै जनता हुन्, उनले सत्तामा रहेका नेतालाई चुनौती दिँदै भने, ‘शहिदको बलिदानीले ल्याएको गणतन्त्रमा पनि भारी बोक्नेको जीवन उस्तै छ, यस्तै भईरहे फेरी विकल्पको खोजि हुन्छ, जनता नै महान् हुन् ।’

अन्तमा उनले प्रमोद प्रधानको रचना तथा संगीत रहेको ‘तिमी देउ तिम्रा हातहरु, म दिन्छु मेरा हातहरु, आउ मिलाउँ हाम्रा हातहरु, न्याय र समानताका लागी’ बोलको गीत सुनाएर न्याय प्राप्ती र परिवर्तनका लागी एकजुट हुन सबैलाई आब्हान गरे । ‘भ्रष्टाचार रहित जनताप्रती उत्तरदायि व्यवस्था निर्माण गर्न आम जनता सँगै नागरिक समाज जागरुक हुनुपर्छ’ रामेशले थपे, ‘हाम्रो कला, साहित्य तथा संस्कृतिको रचना गर्भमा जनता र देशको प्रतिबिम्ब आउनुपर्छ ।’

समानता सहितको सुन्दर समाज निर्माण गर्नको लागि सार्थक गीत संगीत मार्फत बालवालिका र युवाहरुलाई प्रशिक्षित गर्दै नयाँ संस्कार सिकाउनुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा बागलुङे सहित्यकार प्रेम छोटाले मुलुकलाई पार्टी, साथी र जाती भन्दामाथि उठेर देश र जनताको सेवामा काम गर्ने नेता आवश्यक रहेको बताए ।

नयाँ विश्वका सम्पादक मुकेशचन्द्र राजभण्डारीले राज्य र सत्ताबाट कुनै सेवा नलिएरै आफ्नो जीवन जनतामा समर्पित गर्ने गायक रामेशबाट अहिलेका नेताले पाठ सिक्नुपर्ने तर्क गरे ।

संवाद कार्यक्रममा सहित्यकार काजी रोशन, बानपा–२ का वडा अध्यक्ष जीवन आचार्य, अमृत आदर्श आवासिय माविका प्रधानाध्यापक महेशचन्द्र प्रधान र पत्रकार प्रकाश बरालले जिज्ञासा राखेका थिए ।

फोटो–मञ्जुल शाक्य ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung