६ जेष्ठ २०८१, आईतवार

 

ढाका उद्यमी भन्छन् ‘उत्पादन बढाउन थप सहयोग चाहिन्छ’

घरेलु तथा साना उद्योग बिकास समिति मुख्य शाखा कार्यालय बागलुङले ढाका उद्यमीलाई सहभागी गराएर कार्यशाला गोष्ठी गरेको छ । ‘गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यलम बजार सम्बन्ध निर्माण र उत्पादन प्रबद्र्धन’ भन्ने नारा सहित कार्यक्रम गरिएको हो ।

बागलुङ जिल्लामा अहिले एक सय भन्दा बढि लघुउद्यमीले ढाकाबाट विभिन्न समान तयार गर्ने पेशा गर्दै आएका छन् । कार्यक्रममा ढाका उद्यमीहरुले उद्यम विस्तारको लागि तालिम तथा प्राविधिक सहयोग भए उत्पादन बढाएर आम्दानी समेत धेरै गर्न सकिने बताए ।

उनीहरुले तानका सामान तथा धागोमा सहुलिएर भए उत्पादन लागत कम हुने बताए । तान लाउने ठाउँ अपुग हुँदा पनि एकै पटक ठुलो परिमाणमा उत्पादन गर्न नसकिएको बताए । बागलुङ नगरपालिका–१ का उद्यमी लक्ष्मी थापाले नयाँ उद्यामीलाई तालिमको व्यवस्था मिलाउन माग गरिन् । उनले सहुलिएत ऋण पाए लगानी बढाउन सकिने बताईन् ।

उद्यमीहरुले ढाकाबाट सल, व्याग, पुरुषका लागि साईड व्याग लगायतका सामग्री उत्पादन गर्न गरेको बानपा–३ का लालिमा थापाले बताईन् । उनले कतिपय उद्यमीले एक बर्षमा १ लाख भन्दा बढीको समान विक्रि गर्ने गरेको उल्लेख गरिन् ।

घरेलु तथा साना उद्योग विकास समिति बागलुङका प्रमुख विश्वप्रेम ढकालले उद्यामीलाई तालिम तथा मेशिन औजार सहयोग गर्दै आएको बताए । उनले बजार प्रबद्र्धनको लागि मेला महोत्सवमा उत्पादित सामानको प्रदर्शनीको व्यवस्था पनि कार्यालयले मिलाईदिने गरेको बताए ।

बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष जयराम भारीले समान अलि ठुलो मात्रामा उत्पादन गर्न आग्रह गर्दै बजार प्रबद्र्धनमा आफुहरुले सहयोग गर्ने प्रतबद्धता जनाए ।
सहायक प्रमुख जिल्ला अधिकारी धुर्ब गिरीले सानो उद्याम भएपनि राज्यको नियम अनुसार दर्ता गरेर सरकारी सेवा तथा अनुदान लिएर अघि बढ्न उद्यमीलाई आग्रह गरे ।

कार्यक्रममा नयाँ विश्व डटकमका सम्पादक मुकेशचन्द्र राजभण्डारी र लक्ष्मण शर्माले पनि आफ्नो भनाई राखेका थिए ।
कार्यक्रम स्थानिय विकास अधिकारी रामप्रसाद उपाध्ययको अध्यक्षता र घरेलु तथा साना उद्योग विकास समितिका कार्यालय प्रमुख विश्वप्रेम ढकालको सञ्चालनमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्