बागलुङमा स्थापित सुगङ्गा स्मृति कोषबाट यस वर्षको ‘सुगङ्गा सम्मान’ पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई प्रदान गरिएको छ । आइतबार यहाँ आयोजित पुरस्कार समारोहमा कोषका अध्यक्ष काजी रोशन र संस्थापक विदुर खड्काले श्रेष्ठलाई संयुक्त रुपमा नगद रु. २५ हजारसहित दोसल्ला र सम्मानपत्र प्रदान गर्नुभयो ।
निष्पक्ष र निडरतापूर्वक न्याय सम्पादन गरि समाजमा पु¥याएको योगदानको कदर स्वरुप पूर्व प्रधानन्यायाधीश श्रेष्ठ सम्मानित हुनुभएको हो । सम्मान ग्रहणपछि बोल्दै श्रेष्ठले प्राप्त सम्मान सत्य र न्यायपूर्ण समाजप्रतिको सम्मान भएको प्रतिक्रिया दिनुभयो । ‘यो सम्मान समाजलाई समर्पण गर्न चाहान्छु’ श्रेष्ठले भन्नुभयो ‘यसले मेरो न्याय र निष्ठाको लडाइँमा उत्प्रेरणा थपेको छ ।’ उहाँले पुरस्कार र सम्मानले समाजमा सकारात्मक सोँच, मुल्य र मान्यतालाई स्थापित गरेको उल्लेख गर्नुभयो ।
प्रधानन्यायाधीश हुँदा महत्वपूर्ण फैसलाहरु गरेर चर्चामा आउनुभएका श्रेष्ठले कानुनी राज्यको दृढ कार्यान्वयनबिना लोकतन्त्र बाँच्न नसक्ने बताउनुभयो । उहाँले निर्वाचन गर्नु मात्र लोकतन्त्र नभएको भन्दै कानुनी राज्यको स्थापनामा जोड दिनुभयो ।
वि.सं. २०३४ सालदेखि न्याय सेवामा प्रवेश गर्नुभएका श्रेष्ठ २०७२ असार देखि २०७३ असारसम्म सर्वोच्च अदालतको प्रधानन्यायधीश बन्नुभएको थियो । वि.सं. २००८ सालमा बागलुङमा जन्मनुभएका श्रेष्ठ २०३६ सालमा जिल्ला न्यायाधीश हुँदै न्यायलयको सर्वोच्च पदमा पुग्न सफल हुनुभएको थियो ।
यस्तै, सोही समारोहमा कोषले प्रदान गर्ने ‘सुङ्गा पुरस्कार’ पूर्व राज्यमन्त्री ओमकारप्रसाद गौचनलाई प्रदान गरिएको छ । पत्रकारिता, अनुसन्धान र समाजसेवाको क्षेत्रमा पु¥याएको योगदान बापत् गौचनलाई पुरस्कृत गरिएको कोषका अध्यक्ष काजी रोशनले बताउनुभयो । नगद रु. २५ हजार राशिसहितको पुरस्कार पूर्व प्रधानन्यायधीश श्रेष्ठ, कोषका अध्यक्ष रोशन र संस्थापक खड्काले संयुक्त रुपमा प्रदान गर्नुभयो ।
बागलुङका अग्रज पत्रकार विदुर खड्काले स्वर्गीय आमा सुमित्रा खड्का र धर्मपत्नी गङ्गा खड्काको स्मृतिमा वि.सं. २०६६ सालमा कोष स्थापना गर्नुभएको थियो । कोषले समाजमा विशिष्ट योगदान पु¥याउने व्यक्तिहरुलाई दुई वर्षको अन्तरमा सम्मान र पुरस्कार प्रदान गर्दै आएको छ ।
दुई वर्ष अघिको छैठौं सुगङ्गा पुरस्कार राष्ट्रिय समाचार समितिका कार्यकारी सम्पादक एकराज पाठकलाई प्रदान गरिएको थियो । त्यसअघि सामाजिक अभियान्ता महावीर पुन, पत्रकार शुभशङ्कर कँडेल, समाजसेवी देवबहादुर श्रेष्ठ लगाएतले कोषबाट सम्मान तथा पुरस्कार प्राप्त गरिसक्नुभएको छ ।
पुरस्कार सर्मपण समारोहमा पुरस्कृत व्यक्तित्व ओमकारप्रसाद गौचन, समाजसेवी देवबहादुर श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, नेकपा एमाले बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटा, नेपाली काँग्रेसका सभापति दिपेन्द्रबहादुर थापा, बागलुङ बारका अध्यक्ष केशवराज पराजुली, पत्रकार महासंघ बागलुङ शाखाका सचिव राम थापा ‘अविरल’ लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।
कोषका सदस्य अधिवक्ता काजी गाउँले श्रेष्ठले सम्मानित र पुरस्कृत व्यक्तित्वको परिचय प्रस्तुत गर्नुभएको थियो । कोषका अध्यक्ष काजी रोशनको अध्यक्षता, सदस्य रामप्रसाद उपाध्यायको स्वागत मन्तव्य र सदस्य सचिव ज्ञानेन्द्र गौतमको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
सम्मानको रकम पत्रकार महासंघलाई
पूर्व न्यायाधीश कल्याण श्रेष्ठले सुगङ्गा सम्मानबापत् पाएको नगद रु. २५ हजार नेपाल पत्रकार महासंघको भवन निर्माणको लागि प्रदान गर्नुभएको छ ।
सम्मान समारोहमै श्रेष्ठले आफूले पाएको उक्त रकम महासंघका सचिव राम थापा ‘अविरल’ लाई हस्तान्तरण गर्नुभयो । सम्मानबापत् पाएको रकम सामाजिक काममा खर्च होस् भन्ने उद्देश्यले सहयोग गरेको श्रेष्ठले प्रतिक्रिया दिनुभयो ।
‘यो रकम कुने पुण्यको काममा खर्च होस् भनेर यस्तो निर्णय गरेँ’ श्रेष्ठले भन्नुभयो ‘पत्रकार महासंघ बागलुङको भवन निर्माणको खबरले प्रभावित भएँ, सक्दो सहयोग गर्न पाएँ खुसी छु ।’ उहाँले आगामी दिनमा पनि महासंघलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । रकम बुझेपछि महासंघका सचिव थापाले श्रेष्ठले गरेको परोपकारी कार्यले महासंघ उत्साहित भएको प्रतिक्रिया दिनुभयो ।

































































































































































































