६ जेष्ठ २०८१, आईतवार

 

‘यसरी मर्ज भए बागलुङका दुई यातायात समिति’

बागलुङका दुई यातायात व्यवसायी समिति एक आपसमा मर्ज (एकिकृत) भएका छन् । पश्चिम बागलुङको बुर्तिबाङबाट सञ्चालित बुर्तिबाङ यातायात व्यवासयी समिति र ढोरपाटन यातायत व्यवसायी समितिविच एकिकारण गरेर बुर्तिबाङ–ढोरपाटन यातायात व्यवसायी समिति बनाईएको छ ।

बुर्तिबाङ यातायात व्यवसायी समिति २०६८ साल र ढोरपाटन यातायात व्यवसायी समिति २०७० सालमा दर्ता भएर छुट्टछुट्टै क्रियाशिल थिए । एकीकृत समितिको लागि यसअघिको बुर्तिबाङ यातायात व्यवसायी समितिको दर्ता नम्बर र नेपाल राष्ट्रिय यातायात व्यवासायी महासंघमा पनि बुर्तिबाङकै आवद्धता कायम रहने गरि सहमती भएको छ ।

दुई समिति एकिकरणपछि मेषलाल शर्माको अध्यक्षतामा ३ महिनाको लागि १३ सदस्यीय अन्तरिम समिति गठन गरिएको छ । पछि विषेश अधिवेशन गरेर नयाँ नेतृत्व निर्वाचित हुनेछ ।

बरिष्ठ उपाध्यक्ष कुलबहादुर सिञ्जाली, प्रथम उपाध्यक्ष सेरमान घर्ती र द्धितिय उपाध्यक्ष जीवन भट्टचन रहेका छन् । महासचिव नरहरी भुषाल, सचिब दिपेन्द्र श्रेष्ठ र कोषध्यक्ष खुमबहादुर जीसी छन् । चन्द्र अर्याललाई संरक्षक राखिएको छ । तुल्सीराम अर्याल, कृष्ण भण्डारी र कुविर विक सल्लाहकार छन् ।

एकीकृत भएर अघि बढ्दा व्यवसायीक हितसँगै पेशालाई थप मर्यादित बनाउन सकिने दुवै समितिले महसुस गरेपछि एकिकरण गरिएको यसअघिको बुर्तिबाङ यातायात व्यवसायी समितिका संस्थापक अध्यक्ष चन्द्र अर्यालले बताए । ‘छुट्टाछुट्टै क्रियाशिल रहँदाका राम्रा–नराम्रा दुवै खाले अनुभव हामीले हाँसिल ग¥यौँ’ अर्यालले भने, ‘एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता दुवैतिरका साथीहरुबाट महसुस भएको देखिएपछि हामीले दुवै समितिलाई एउटै बनाएका हौँ ।’

उनले दुई समिति हुँदा काउन्टर सञ्चालन, संस्था सञ्चालन लगायत धेरै कुरामा दोहोरो खर्च हुने गरेको र कतिपय वेला हुने अस्वस्थ प्रतिप्रर्धाले व्यवसायीको हित र मर्यादामा समेत प्रश्न उठ्ने गरेको स्मरण गरे । उनले धौलागिरी यातायात व्यवसायी समितिसँगको सहकार्य एकीकृत बुर्तिबाङ–ढोरपाटन समितिले पनि यसअघि जसरी नै निरन्तरता दिईने बताए । बर्षातपछि भदौदेखि बुटवल रुटमा पनि वस तथा जीप सेवा सुचारु गरिने एकीकृत समितिले जनाएको छ ।

यसअघि दुवै समितिले काठमाण्डौसम्म वस, पोखरा तथा बागलुङसम्म जीप सेवा सञ्चालन गर्दै आएका थिए । बुर्तिबाङ समितिले रुकुमसम्म तथा स्थानीय रुटमा निसी, बोबाङ, तमान, चामिद्वार, राजकुत लगायतका क्षेत्रमा वस तथा जीप सञ्चालन गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्