३ श्रावण २०८३, आईतवार

 

‘ताराखोलामा सुरु भयो असारे मेला’ फोटोकथा

- गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले उद्घाटन गरे

स्थानीय मगर समुदायको संस्कृतिमा आधारित असारेमेला ताराखोलामा सुरु भएको छ । मेलाको तारा–५ करिमेलामा रहेको दुर्गाभवानी माविको परिसरमा ताराखोला गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले उद्घाटन गरे ।

उनले संस्कृति मानविय पहिचन र सभ्यता भएको भन्दै यसको प्रवद्र्धनमा सवैले ध्यान दिनुपर्ने बताए । घर्तीले स्थानीय संस्कृतिको संरक्षणका लागि सांस्कृतिक संग्रालय निर्माण गर्नुपर्ने बताए ।

उनले समग्र ताराखोला गाउँपालिकाको विकास र समृद्धिमा आफु प्रतिवद्ध रहेको उल्लेख गरे । ताराखोलालाई नमुना गाउँपालिका बनाउनुपर्ने भन्दै सवैलाई साथ दिन आग्रह गरे । समृद्ध ताराखोला अभियानको नेतृत्व आफुले गर्ने प्रतिवद्धता जनाए ।

ताराखोला मगर समुदायले प्रत्यक बर्ष असार तेस्रो सातादेखि झण्डै एक हप्तासम्म परम्परागत रुपमा असारे मनाउने चलन छ । यस अवसरमा बुढापाकाले विधिपुर्वक पुजाआज गर्ने गर्छन् । युवा युवतीले पिङ हाल्ने, खेल्ने रमाईलो गर्ने, सँगै बसेर खाजा खाने गर्दछन् । बुढापाकाले मगर संस्कृतिमा आधारित गीत नृत्य सहितको झाँकी प्रदर्शन गर्ने गर्दछन् ।

परम्परागत रुपमा असारे बसेको वेलामा खेतबारीमा काम नगर्ने मान्यता रहेपनि अहिले भने कतिपयले असारेको वेला पनि खेतीपातीको काम गर्नेगरेका छन् ।  डोल्पाको ताराभोटबाट अहिलेको तारागाउँमा आएर आफ्ना पुर्खाहरुले बसोबास सुरु गरेदेखि नै असारे बस्ने चलन सुरु भएको बुढापाका बताउँछन् ।

पछिल्लो पटक स्थानीय असारे युवा क्लवले असारे मेला विभिन्न कार्यक्रम सहित बनाउने गरेको छ । यस अवसरमा भलिवल, लोक दोहोरी गीत, लठोतान, तारोखेल जस्ता कार्यक्रम गर्ने गरिएको छ ।

असारेलाई बर्षातको समयमा कामको व्यस्तताले थकाई लागेका बेला साथी भाई भेटघाट गर्ने, रमाईलो गर्ने, थकाई मार्ने अवसरका रुपमा पछि लिने गरिन्छ । टाढा–टाढाबाट आएका युवा युवतीहरु भेट हुने, मायाँ पिरती लाउने, घरजम गर्ने अवसरको रुपमा पनि यो संस्कार रहँदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung