३ जेष्ठ २०८१, बिहीबार

 

‘आर्थिक समृद्धिका लागि निजीक्षेत्र–स्थानीयतह सहकार्य आवश्यक’–श्रेष्ठ

नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य निर्माणकुमार श्रेष्ठ बासुले उद्योग व्यवसायको प्रबद्र्धन गर्दै आर्थिक समृद्धिको दिशामा अघि बढ्न स्थानीय तह र उद्योगी व्यवसायीको सहकार्य अवश्यक रहेको बताएका छन् । स्याङ्जाको भिरकोट उद्योग बाणिज्य संघको पहिलो सधारण सभा तथा अधिवेशनको बयरघरीमा उद्घाटन गर्दै उनले यस्तो वताएका हुन् ।

‘स्थानीय तहमा लगानीमैत्री वातावरण बनाउन र भईरहेका व्यवसाय प्रवद्र्धनको लागि हामी स्थानीय सरकारसँग सहकार्य गरेर अघि बढ्नुपर्छ,‘श्रष्ठले भने,‘जनप्रतिनिधि निर्वाचित भएर आएका छन, विकास योजना छनोट, बजेट विनियोजन र पुर्वाधार निर्माण गर्दापनि दिगो प्रतिफल प्राप्त हुने क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्छ, यसका लागि एक आपसमा छलफल गरेर जानुपर्छ ।’

उनले विगतमा स्थानीय निकायमा जनप्रतिनिधि नभएको अवस्थामा कतिपय ठाउँमा महासंघका सदस्यले जनप्रतिनिधिले गनुपर्ने कामको सहजिकरण गरेको स्मरण गरे ।

‘राज्य नयाँ संरचनामा गएपछि स्थानीय तह बलियो भएका छन्, केन्द्रिय सदस्य श्रेष्ठले थपे, ‘यो उद्योगी व्यवसायीका लागि पनि खुसिकै कुरा हो, गाउँ र नगरमा लगानीको सम्भावनाको खोजी गर्दै स्थानीय उत्पादन बढाएर समृद्धिको बाटोमा अघि बढ्न निजीक्षेत्रसँग सहकार्य गर्न म जनप्रतिनिधिलाई अपिल गर्दछु ।’

उनले नेपालको सवै क्षेत्र विविधताले भरिपुर्ण भएको भन्दै सवैभन्दा बढी आम्दानीको सम्भावना पर्यटनमा रहेको बताए । ‘आन्तरिक र बाह्य पर्यटकलाई घुम्नका लागि रुट तय गरि योजनाबद्ध विकास गरेर पर्यटकलाई हाम्रा उत्पादन र सेवा बेचेर राम्रो आम्दानी गर्न सकिन्छ’, उनले भने, ‘यसका लागि पर्यटकलाई घुम्ने, हेर्ने र बस्ने पुर्वाधारको विकास पहिलो सर्त हो ।’

उनले महासंघ उद्योग व्यवसाय सञ्चालनको क्रममा आउने समस्या समाधानको लागि सहजिकरण गर्दै व्यवसायीक हित प्रवद्र्धनमा प्रतिवद्ध रहेको बताए । श्रेष्ठले भर्खरै स्थापना भएको भिरकोट उद्योग बाणिज्य संघलाई संस्थागत गर्दै अघि बढ्न व्यवसायी एकजुट हुनुपर्नेमा जोड दिए । व्यवसाय प्रवद्र्धन र लगानीमैत्री अवस्था सिर्जना गर्न स्थानीय तहसँग मिलेर अघि बढ्न आग्रह गरे ।

सो अवसरमा भिरकोट नगरपालिकाका प्रमुख छायाँराम खनाल, उपप्रमुख सिमा केसी कर्माचार्य, पुर्वसांसद् खगेन्द्रराज रेग्मी, बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष जयराम भारी, बयरघारी बजार व्यवस्थापन समितिका पुर्व अध्यक्ष गोकुल अधिकारी, नेपाली काग्रेशका पिताम्बर श्रेष्ठ, नेकपा एकालेका दुर्गादत्त भुषल, नेकपा माओवादी केन्द्रका कृष्ण ढुङ्गाना लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

भिरकोट उद्योग बाणिज्य संघका अध्यक्ष हर्कबहादुर गुरुङले अध्यक्षको प्रतिवेदन, महासचिव कमल त्रिपाटीले प्रगति प्रतिवेदन तथा भावि कार्ययोजना र कोषाध्यक्ष जगदिश कोईरालाले आर्थिक प्रतिवेदन प्रश्तुत गरेका थिए ।

कार्यक्रम अध्यक्ष हर्कबहादुर गुरुङको अध्यक्षता, उपाध्यक्ष खेम केसीको स्वागत र सचिव शेषकान्त खरेलको सञ्चालनमा सम्पन्न भएको थियो । आगामी कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न हुनेछ ।

प्रतिक्रिया दिनुहोस्