२६ बैशाख २०८१, बुधबार

 

फ्युजन ब्युटी र लक्जरीको

छर्लङ्ग र एकदमै सम्मुख लाग्ने सेता हिमशृंखला हेर्न नगरकोट जान नचाहने को होलान् ? काठमाडौंबाट मात्रै ३२ किमि पूर्व पर्छ यो अति लोकप्रिय हिलस्टेसन । यो थुम्कोमा छोटो तर रोमञ्चकारी बिदा मनाउन सकिने ६० हाराहारी रिसोर्ट छन् ।

जो अधिकांश उत्तरतर्फ बार्दली फर्किएको डिजाइनमा छन् । यही भीडमा यसै सिजनबाट थपिएको छ अर्को आधुनिक रिसोर्ट । जसलाई लगानीकर्ताले नाम दिएका छन्, होटल मिस्टिक माउन्टेन ।

करिब ३१ महिना लामो निर्माण कार्यपछि सञ्चालनमा ल्याइएको मिस्टिक माउन्टेन ‘भूकम्पपछि नगरकोट सकियो’ भन्दै नकारात्मक प्रचार गर्नेका लागि मुखभरिको जवाफ हुन सक्छ । नगरकोटबाट धुलिखेल निस्किने हाइकिङ रुटमा पर्ने यो रिसोर्ट बाक्लो अनि हरियो वनले ढाकिएको पहाडको खोंचमा निर्माण गरिएको छ ।

हालसम्म ६२ करोड रुपैयाँ लगानी गरिसकेका एक्ला लगानीकर्ता पर्यटन व्यवसायी बालकृष्ण धोजुले यसलाई अल्ट्रा लक्जरी होटल भन्न रुचाउँछन् । यहाँ अधिकांश पूर्वाधारमा भारत, चीन हुँदै इटालीसम्मको हार्डवेयर र प्रविधि प्रयोग गरिएको छ ।

सहरी क्षेत्रमा बसोबास गर्ने नेपालीहरूको घुमफिरमा रुचि बढ्दै गइरहेका बेला सञ्चालनमा ल्याइएको यो रिसोर्टले मध्यम र उच्च वर्गीय आन्तरिक पर्यटकलाई लक्षित गरेको छ । यहाँभित्र कफी सप, नेपाली र विदेशी रेसिपी फयुजन गरिएको मल्टी कुजिन रेस्टुरेन्ट र स्काई बारसहित तीन वटा आउटलेट सञ्चालन गरिएको प्रमुख सेफ महेशराज ढकालले बताए । यी तीन वटै हिमालतर्फ फर्किएका आरामदायी आउलेट हुन् ।
बार्दलीबाट देखिने अग्ला पहाडभन्दा माथि बादल देखिन्छ । मनसुन सिजनमा अझ पानी परेपछि देखिने इन्द्रेणी र हिमचुचुराको दृश्यले मोहित बनाइदिन्छ । सुन्दरता र लक्जरीको फ्युजन जो यो ठाउँलाई भनिएको छ ।

२७ रोपनी क्षेत्रफल भएको रिसोर्ट भिरालो पहाडमा बनाइएको छ । आर्किटेक्ट सञ्जयलाल श्रेष्ठका अनुसार भिरालो प्राकृतिक भूभागमा षटकोणीय ढाँचामा प्राकृतिक दृश्यलाई नबिग्रिने गरी तीन वटा ब्लक (घर) बनाइएका छन् । ती सबैलाई ब्रिजिङ गर्दै जोडिएको छ । यीमध्ये सबैभन्दा अग्लो ७ तलासम्मको छ । यहाँ ८ वटा सुइटसहित ७० डिलक्स रुम छन् । हरेक ब्लकमा अतिथिहरूका लागि आँगन राखिएको छ ।

जहाँबाट प्राकृतिक दृश्य हेर्न आनन्द मिल्छ । यो रिसोर्टमा अर्डरलगायतका सबै सर्भिसलाई आईसीटीसँग जोडिएको छ । सुइमिङ, ज्याकुजी वा उफ्रोमा हुनुहुन्छ भने रुमको फोन मोबाइलमै बज्ने र मोबाइलबाटै अर्डर टिपाउन मिल्ने प्रविधि राखिएको छ । अपांगमैत्री रिसोर्टमा एक रातको बसाइलाई १५ हजार रुपैयाँ र सुइटको ५० हजार रुपैयाँ मेनुमा लेखिएको छ ।

दुई जनाका लागि तोकिएको यो रेटमा एक रातको बसाइ, डिनर, ब्रेकफास्ट, स्न्याक्स, बेभरेजलगायतका सुविधा छन् । थप जानकारी मिस्टिक माउन्टेनको वेब वा फेसबुक पेजमा हेर्न सकिन्छ । ‘स्विमिङ पुल, लिफ्ट, ज्याकुजी, उफ्रो, मल्टीआउटलेट क्याफे/बार, एक्जुकेटिभ सुइट आदि भएको’ नगरकोटको एक मात्र रिसोर्ट आफूले बनाएको धोजुको भनाइ छ ।
कान्तिपुर शुक्रबारबाट

प्रतिक्रिया दिनुहोस्