९ कार्तिक २०८३, आईतवार

 

‘ढोरपाटन नगरले तोकेको कर र बजेट व्यवहारिक छैन’: सात दल

- आफ्नै प्रतिनिधिले गरेको निर्णय तत्काल सच्याउन माग, नसच्याए अन्दोलन गर्ने चेतावनी

ढोरपाटन नगरपालीकाले तोकेको करको दायरा र बजेट विनियोजन समेत व्यवाहारिक नभएको भन्दै राजनितिक दलले सच्याउन माग गरेका छन् ।

पहिलो नगरपरिषद्बाट पारित भएर चालु आर्थिक बर्ष २०७४/७५ का लागि कार्यान्वयमा आएको करको दर धेरै भएको भन्दै उनीहरुले विरोध जनाएका हुन् ।

नेकपा एमाले बाहेक सात दलका प्रतिनिधिले करको दर र बजेट विनियोजनलाई समेत परिमार्जन गरेर व्यवहारिक बनाउन माग गर्दै नगरप्रमुख देबकुमार नेपालीलाई मंगलबार ज्ञापन पत्र बुझाएका छन् ।

‘करको निर्धारण र बजेट विनियोजन स्थानीय सर्वसाधारण नागरिक तथा आम सर्वसाधारणको हितमा नभएको ठहर भएको छ’, राजनितिक पार्टीको तर्फबाट नगरप्रमुखलाई बुझाईएको ज्ञापनपत्रमा भनिएको छ, ‘व्यपक रुपमा विरोध र जनगुनासो समेत आएकाले हामी राजनितिक दलको तर्फबाट गम्भिर ध्यानाकर्षण भएको छ ।’

ढोरपाटन नगरपालिका प्रमुख देबकुमार नेपाली र उपप्रमुख करमती पुन दुवै जना एमालेबाट निर्वाचित भएका प्रतिनिधि हुन् । एमाले भने राजनितिक पार्टीले राखेको असहमतीमा सहभागी छैन ।

नेपाली काँग्रेसका नगरसमन्वय समिति संयोजक सालिकराम शर्मा, नेकपा माओवादी केन्द्रका फारमबहादुर कुँवर, राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य गौरिश्वर पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टीका निमबहादुर भण्डारी, नेकपा क्रान्तिकारी माओवादीका निलबहादुर पुन, नेकपाका हरिबहादुर कुँवर र नयाँ शक्ति नेपालका टेकबहादुर भण्डारीले ज्ञापन पत्रमा हस्ताक्षर गरेका छन् ।

करको दायरालाई सवैको हितमा हुने गरि निर्धारण गर्न र बजेट समेत न्यायोचित रुपमा विनियोजन गर्न ज्ञापन पत्र मार्फत नगरपालिकालाई माग गरिएको छ । उनीहरुले नमिलेको कुरा तत्काल मिलाउन माग गरेका छन् ।

उनीहरुले माग तत्काल सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् । नगरप्रमुख देबकुमार नेपालीले नमिलेका विषयमा छलफल गरेर अघि बढ्न सकिने जवाफ दिएका छन् । सातै पार्टीले विज्ञाप्ती समेत प्रकाशन गरेर नगरसभाको निर्णय नसच्याए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

राजनितिक पार्टीको नेतृत्वले असहमती राख्दै सच्याएर व्यवहारिक बनाउन माग गरेको बजेट विनियोजन र करको दायरा नगरकार्यकारी र नगरसभामा उनीहरुको तर्फबाट निर्वाचित जनप्रतिनिधिले भने यस अघि नै एक मतले पारित गरेर हस्ताक्षर समेत गरेका छन् ।

ढोरपाटन नगरपालिकाको नगरकार्यपालिका र नगरसभामा नेपाली काँग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र क्रान्तिकारी माओवादीको तर्फबाट प्रतिनिधित्व छ । आफ्नो पार्टीबाट निर्वाचित प्रतिनिधिले सर्वसम्मत पास गरेको बजेट तथा करको दायरामा यि चार पार्टीको नेतृत्वले पछि आएर असहमती जनाएको हो ।  राष्ट्रिय प्रजातन्त्र पार्टी र नयाँ शक्तिबाट भने नगरपालिकामा कुनै प्रतिनिधि निर्वाचित भएका छैनन् ।

यसअघि सोमबार बुर्तिबाङ राईजिङ युवा क्लवले यस विषयमा राजनितिक दल, उद्योगी व्यवासायी तथा सरोकारवाला विच छलफल गरेको थियो । छलफल कार्यक्रममा सहभागीले पनि करको दायर बढी भएको भन्दै आपत्ति जनाईएको थियो ।

यस्तो छ नगरसभाले पास गरेको करको दायरा
गत असार ३० गतेसम्पन्न पहिलो नगरपरिषद्ले ढोरपाटन नगरमा चालु आर्थिक बर्षका लागि वार्षिक रुपमा कम्तीमा १ हजार २ सय रुपैयाँदेखि बढीमा ८ हजार रुपयौसम्म व्यवसायीक कर उठाउने निर्णय रेको थियो ।

घरधुरी कर कम्तीमा ३ सय रुपैयाँदेखि ३ हजार रुपैयाँसम्म उठाउने उल्लेख छ । घरबाहल कर ५ प्रतिशत, एकीकृत सम्पत्ति कर, भूमीकर जडिबुटी, कवाडी तथा जीवजन्तु कर, सवारी साधन कर, विज्ञापन कर, मनोरञ्जन कर, बहाल बिरौटी शुल्क, पार्किङ शुल्क, सेवा शुल्क तथा दस्तर, पर्यटन शुल्क लगायतका १५ किसिमका कर दायरा नगर सभाले परित गरेको छ । त्यस्तै फोहोर व्यवस्थापन शुल्क प्रतिमहिना कम्तीमा २ सय रुपैयाँदेखि १ हजार रुपैयाँसम्म तोकिएको छ । फोटोमा नगरप्रमुख देबकुमार नेपाली
सात राजनितिक दलले नगरप्रमुखलाई बुझाएको ज्ञापन पत्र र उनीहरुले जारी गरेको विज्ञाप्ती तल क्रमश….

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung