९ कार्तिक २०८३, आईतवार

 

उद्योग व्यापार संगठन बागलुङको अध्यक्षमा थापा निर्वाचित, को हुन् राज थापा ?

- सात बुँदे समसामयिक प्रश्ताब पारित

नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङ शाखाको पहिलो अधिवेशनले राज थपालाई अध्यक्षमा निर्वाचित गरेको छ । ‘राष्ट्रिय स्वाधिनताको लागि राष्ट्रिय अर्थतन्त्र’, ‘राष्ट्रिय अर्थतन्त्र निर्माणका लागि औद्योगिकरण र व्यापारिकरण’ भन्ने उद्घोष सहित केन्द्रमा २०६४ सालमा स्थापना भएको संगठनको बागलुङमा पनि त्यही बर्ष समिति गठन भएको थियो ।

उद्घाटन मन्तव्य राख्दै केन्द्रिय उपाध्यक्ष श्याम श्रेष्ठ

दश बर्षपछि भएको पहिलो जिल्ला अधिवेशनले ३१ सदस्यीय कार्यसमिति सहित नयाँ नेतृत्व चयन गरेको हो । उपाध्यक्षमा ५ जना निर्वाचित भएका छन् । कार्यसमितिमा मुकेशचन्द्र राजभण्डारी, ललित श्रीस, सकसबहादुर क्षेत्री र सुन्दरी श्रेष्ठ ‘तृष्णा’ उपाध्यक्ष छन् । बुर्तिबाङ क्षेत्रबाट १ जना उपाध्यक्ष पछि राखिने छ ।
सचिवमा बाबुडियर हमाल, सहसचिव छुमबहादुर थापा र कोषाध्यक्ष मनोज थापा निर्वाचित भए ।  सदस्यमा गोकुल कँडेल, दुर्गा विक, नरबहादुर क्षेत्री, सुधिर श्रेष्ठ, गंगा रेग्मी, दिलमायाँ घर्ती, बलबहादुर थापा र नरबहादुर थापा रहेका छन् । बागलुङका चार नगरपालिका र ६ गाँपालिकाका अध्यक्ष जिल्ला कार्यसमितिमा पदेन सदस्य रहने छन् । पाँच जना सदस्य पछि कार्यसमितिले थप गर्ने नवनिर्वाचित अध्यक्ष राज थापाले जानकारी दिए ।

अधिवेशनको संगठनका केन्द्रिय उपाध्यक्ष श्याम श्रेष्ठले राधाकृष्ण मन्दिर हलमा उद्घाटन गरेका थिए । प्रमुख अतिथीको रुपमा गृहमन्त्री जनार्दश शर्मा प्रभाकरलाई बोलाईएकोमा कार्यव्यस्तताले आउन नसकेपछि उनले काठमाण्डौबाटै मोवाईल मार्फत उद्घाटन कार्यक्रमलाई सम्वोधन गरेका थिए ।
बन्दशत्रले संगठनको १ लाख २ सय ९३ रुपौयाँको आम्दानी खर्च पारित गरेको छ ।

सात बुँदे समसामयिक प्रश्ताब पारित

बन्दसत्रले सात बुँदे समसामयिक प्रश्ताब समेत पारित गरिएको छ ।

१. चालु आर्थिक बर्षका लागि बागलुङका स्थानीय तह (नगरपालिका तथा गाउँपालिकाका)ले लगाएको कर अत्यधिक बढि भएको व्यवसायीहरुबाट गुनासो आएकोमा स्थानीय सरकार तथा अन्य व्यापारिक संघ संगठनसँग समन्वय गरेर समायोजनको लागि पहलकदमी लिने ।

२. स्थानीय सरकारको राजश्व परामर्श समितिमा संगठनलाई निजीक्षेत्रको संस्थाको रुपमा प्रतिनियधित्व गर्न/गराउन समन्वय तथा पहल गर्ने ।

३. व्यवासायिक फर्म, कम्पनी तथा उद्यम दर्ता प्रक्रियालाई सरल, वैज्ञानिक बनाउँदै संघ, प्रदेश तथा स्थानीय तिनै तहका सरकारबाट एकद्वार प्रणालीमा दर्ता गर्ने व्यवस्था मिलाउन माग गर्ने/गराउने ।

४. स्वाधिन तथा राष्ट्रिय अर्थतन्त्रका पक्षधर उद्यामी, व्यापारी तथा व्यवसायीलाई स्थानीय तहसम्म संगठित गरी राष्ट्रिय पुजी निर्माण एवं संरक्षण गर्दै स्वाबलम्वी तथा आत्मनिर्भर अर्थतन्त्रका लागि निरन्तर क्रियाशिल रहने ।

५. एक स्थानीय तह एक व्यवस्थित बजार तथा व्यापारिक केन्द्र निर्माणका लागि पहल गर्ने ।

६. बागलु«ङ जिल्लाको स्रोत साधनमा आधारित जल, जंगल, जडिवुटी, जमिन, जनश्रम तथा पर्यटन उद्योग लगायत अन्य सम्भाव्य क्षेत्रको अध्ययन अनुसन्धानको लागि वातावरण सिर्जना गर्ने । सथै जिल्ला भित्र एक विशेष आर्थिक क्षेत्र (सेज) बनाउन जोड दिने ।

७. निजी क्षेत्र, सरकारी तथा गैरसरकारी, सहकारी लगायत विभिन्न व्यवसायिक संघ संगठन तथा सरोकारवाला निकायसँग आवश्यक सम्बन्ध, समन्वय, सहकार्य गर्दै व्यवसायिक हक हित प्रबद्र्धनमा थप सक्रियता लिँदै मुलुकको आर्थिक समृद्धिका लागि कृयाशिल रहने ।

को हुन् अध्यक्ष निर्वाचित राज थापा ?
विक्रम संबत २०२८ साल मंसिर १७ गते मल्ममा जन्मीएका थापा बुबा महाविर र आमा पवित्रकुमारीका कान्छा छोरा हुन् । स्नातक तहसम्म अध्ययन अध्ययन गरेका उनले ५ बर्ष शिक्षण पेशा गरे । २०२२ सालदेखि नै बुबा तथा घरपरिवारले सुरु गरेको व्यवसायलाई विस्तार गर्दै अघि बढेका थिए ।

२०५७ देखि बागलुङ बजारमा स्वाविमान उर्जाविकास कम्पनी खोली सोलार व्यवसाय सुरु गरेका उनले २०५९ देखि अहिले सम्म होटेल हिल भ्यू सञ्चालन गर्दै आएका छन् । २०६३ मा स्थापना भएको ट्वींकल होष्टेल एकजुकेशन प्राली बागलुङका उनी संस्थापक सञ्चालक तथा निर्देशक हुन् ।

बुटवलको लुम्विनी दैनिकबाट पत्रकारिता सुरु गरेका उनले बागलुङ बजारबाट प्रकाशन हुने बागलुङ पत्र साप्ताहिक, ढोरपाटन दैनिक हुँदै गलकोट एफएम तथा गलकोट पत्र सञ्चालन प्रकाशनको थालनी गर्दै ८ बर्ष अध्यक्ष भएर नेतृत्व गरे । गलकोट घुम्टे पर्यटन विकास केन्द्र मार्फत पर्यटन विकाशमा महत्वपुर्ण भुमिका खेलेका थापाले काठमाण्डौ घुम्टेलेक साईकल यात्रा, घुम्टे गुराँस महोत्सवको आयोजना, घुम्टे पर्यटन पदमार्ग, गाईघाट झरनाको पर्यटकिय पुर्वाधार निर्माण जस्ता कार्य गरे ।

उनले द्वन्द्वकालिन समयमा बागलुङ गलकोट बुर्तिबाङ मोटरबाटो समितिको ४ नम्बर खण्डको अध्यक्ष भएर काम गरेका थिए । उनी अहिले पनि जिल्ला तहमा होटल व्यवसायी संघका बरिष्ठ उपाध्यक्ष, नेपाल घरेलु तथा साना उद्योग महासंघका सचिव, फेकोफनका कोषाध्यक्ष, गैसस महासंघका सदस्य एवं सुचना तथा सञ्चार सहकारी संघ बागलुङका लेखा संयोजक समेत छन् ।

२०३९ सालदेखि बामपन्थी विद्यार्थी राजनितीमा सक्रिय भएर राजनितिक आन्दोलनमा जोडिएका थापा अहिले नेकपा माओवादी केन्द्र राष्ट्रिय महाधिवेशन आयोजक समिति सदस्य हुन् । उनीसँग भारत, चीन जापान लगायतका देशको भ्रमण अनुभव छ ।

उनी समाजसेवा, पत्रकारिता, खेलकुद, भ्रमण, गीत संगीत, पर्यटन विकास विशेष रुचि राख्छन् । उनी पर्यटन, सञ्चार, वन, उद्योग व्यवसाय, विकास निर्माण लगायतका दर्जनौँ सामाजिक संघ संस्थाको महत्वपुर्ण भुमिकामा अहिले पनि सक्रिय छन् । उनी सरल, मिलनसार स्वभाव र समन्वयकारी भुमिकामा सवल छन् । आफुलाई मन नपरेको कुरामा कडा र खरो रुपमा उत्रिने उनको बानी छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung