
अविरल वर्षापछिको बाढी पहिरोबाट प्रभावित नागरिकका लागि बागलुङका सहकारी संघ संस्थाले सहायता जुटाउने अभियान थालेका छन् ।बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघको संयोजनमा भएको बैठकले तराईसँगै देशभरका प्रभावितका लागि सहयोग जुटाउने निर्णय गरेको हो ।
बैठकले बाढी पहिरो र डुवानमा भएको जनधनको क्षेतीप्रति दुःख व्यक्त गरेको जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष चण्डीप्रसाद शर्माले जानकारी दिए । उनले मानविय संकटमा सवैले सक्दो सहयोग गर्नुपर्छ भन्ने मान्यताले अभियानमा सहयोग गर्न अपिल गरेको बताए ।
अभियानमा विभिन्न सहकारीले ५० हजार भन्दा बढी सहयोग गर्ने बचनबद्धता बैठकमै व्यक्त गरेका छन् । सिवाईसी बचत तथा ऋण सहकारी (साकोस) ले रु. १५ हजार रुपैयाँ सहयोग गर्ने जनाएको छ । साझेदारी बहुउद्देश्यीय सहकारी, एकता सहकारी, लखन बहुउद्देश्यीय सहकारी, महिला हित साकोस र आस्था साकोसले ५/५ हजार रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता जनाए ।
शुभश्री साकोस, संकल्प साकोस र सामुहीक साकोसले समान २ हजार ५ सय रुपैयाँ सहयोग गर्ने बताएका छन् । कालीका उर्जा सहकार, कन्र्सन साकोस र सहयोगि साकोसले २/२ हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका अध्यक्ष शर्माले बताए । ओम साकोसले १ हजार रुपैयाँ सहयोग गर्ने भएको छ ।
बैठकले राहात संकलनका लागि ५ सदस्यीय समिति समेत गठन गरेको छ । समितिमा सहकारीकर्मी चण्डिप्रसाद शर्मा पौडेल, रुद्र महत, लिला खड्का, केवि शाही र भवानीप्रसाद कँडेल रहेका छन् ।
समितिले जिल्ला स्थित सहकारी संस्थाहरुमा पुगी राहत संकलन अभियानमा सहयोग गर्नका लागि अनुरोध गर्ने बताईएको छ । संकलीत राहात रकम बचत तथा ऋण सहकारी संस्थाको छाता संस्था नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ नेफ्स्कून मार्फत बाढी प्रभावित क्षेत्रमा पठाईने अध्यक्ष शर्माले जानकारी दिएका छन् ।