अघिपछिको भन्दा शुक्रबारको साँझ बागलुङका युवायुवतीहरुको लागि अलिक भिन्न रह्यो । युवायुवती मात्र होइन, विवाहित जोडी, परिवारका सदस्य र बालबच्चाले समेत नौलो कार्यक्रमको मज्जा उठाए । ‘इलिजेन्स फेसन रन–वे सो’ नाम दिइएको कार्यक्रममा दर्शकले फेसन, सङ्गीत, नृत्यसहित र रुचीको खानपानमा झुम्ने अवसर पाए । कार्यक्रमका संयोजक प्रकटकुमार शिशिरका अनुसार यस किसिमको कार्यक्रम जिल्लाकै पहिलो हो ।

उनले फेसनप्रति युवा पुस्ताको आर्कषण बढाउन र सचेतता ल्याउन कार्यक्रम राखिएको बताए । ब्राउन आइज रेष्टुराँ र बेन्केटको परिसर सयौं पाहुना तथा दर्शकले भरिभराउ थियो । कार्यक्रममा गायक अविनाश घिसिङले छिपिँदो रातमा आफ्ना लोकप्रिय गीत सुनाएर दर्शकको मन जित्ने कोशिस गरे । दर्शकको भरपुर साथबीच उनले आधा दर्जनजति गीत सुनाए । कार्यक्रममा विभिन्न पहिरनमा मोडलहरु आफ्नो सौन्दर्य कला प्रदर्शन गर्न मञ्चमा उत्रिँदा उपस्थित दर्शकले हुटिङसहित साथ दिए ।

सुरुमा उनीहरुले मौलिक नेपाली पोशाक सारीमा सजिएर मञ्चमा निस्किएका थिए । कुनै फेसन प्रतियोगिताको जस्तो देखिने मञ्चमा सङ्गीत र प्रकाशको संयोजनले झन् आकर्षण थपेको थियो । मोडलहरु हिस्सी शेर्पा, किरण देउजा, कुसुम देउजा, रुथ गिरी, सब्बु श्रेष्ठ र श्रृष्टी सुनुवारले आफ्नो कला प्रस्तुत गरेका थिए । सारीपछि आधुनिक पहिरनसहित उनीहरु ‘फेसन रन–वे’ मा प्रस्तुत भएका थिए । कार्यक्रममा डिजे शिशिरले ‘डिजे शेसन’ मा आफ्नो कलात्मक प्रस्तुती राखेका थिए ।
विशेष गरि युवा पुस्ताका दर्शकहरु डिजे सङ्गीतमा मज्जाले झुमेका देखिन्थे । जति रात छिप्पिदैँ गयो त्यति कार्यक्रम परिसरमा रौनकता थपिदैँ गयोे । मध्यरातसम्म कार्यक्रमको आनन्द बटुलेपछि दर्शकहरु आ–आफ्नो घर लागे । स्थानीय आयोजक ब्राउन आइज रेष्टुराँ एवम् बेन्केटका सञ्चालक

सुवास श्रेष्ठले दर्शकलाई घरबाहिरको आनन्द दिलाउन चाहेको बताउनुभयो । ‘आधुनिक फेसन र संस्कृतिप्रति युवा आकर्षण बढ्दो छ, त्यसलाई यो कार्यक्रमले सम्बोधन गरेको छ’ श्रेष्ठले भन्नुभयो ‘पारिवारिक वातावरणमा पनि यस्ता कार्यक्रममा सहभागी हुन सकिन्छ भन्ने प्रमाणित भएको छ ।’

कार्यक्रममा वयस्कहरु पनि आफ्ना बालबच्चासहित सहभागी बनेका थिए । सञ्चालक श्रेष्ठले आगामी दिनमा यस्ता कार्यक्रमहरु आयोजना गरिने बताए । युवा व्यवसायी श्रेष्ठ डेढ करोड भन्दा बढीको लगानीमा बागलुङ सदरमुकाममा रेष्टुराँ र बेन्केट सञ्चालनमा ल्याएका छन् । आफ्नो व्यवसायको प्रवद्र्धनमा पनि कार्यक्रमले टेवा पु¥याएको उनको भनाइ छ । –फोटो रामथापा अविरल













































































































































































































