३ श्रावण २०८३, आईतवार

 

मानव सभ्यतालाई चुनौति बन्दै कृर्तिम बुद्धि

 मानिसको बुद्धिले गर्ने काम अब कम्प्युटरमा जडान गरिएको एउटा सानो हार्डवेयरले गर्न थालिसकेको छ । अझ त्यसलाई मोडिफाइड गर्ने काम भई रहेको छ । धेरै हदसम्म त्यसमा सफलता समेत हात परिसकेको छ । हो, मानवको बुद्धि जस्तै कार्यहरु प्रदर्शन गर्ने, दृष्य हेर्ने, भाषाको मान्यता प्रदान गर्ने, निर्णय गर्ने र भाषाहरू बीच अनुवाद गर्ने जस्ता कार्य सिद्धान्तका आधारमा आधुनिक कम्प्युटर प्रणाली भित्रि सकेको छ । यो प्रणालीलाई आर्टिफिसियल इन्टेलिजेन्स (कृर्तिम बृद्धि) नाम दिइएको छ । छोटकरीमा यसलाई ‘एआई’ ले पनि चिनिन्छ । यसलाई सरल भाषामा ‘कृर्तिम तरिकाले विकसित गरिएको बौद्धिक क्षमता नै कृर्तिम बृद्धि हो’ भनेर बुझ्न सकिन्छ । सन् १९५० को दशकमा यसको अविष्कार गरिएको हो ।

मानिस जस्तै सोच्ने, व्यवाहर प्रदर्शन गर्ने, तर्क र विचारप्रति सम्वेदनशील हुने, कुनैपनि तथ्यलाई बुझेर आफ्नो प्रतिक्रिया तत्काल दिने गरि विकसित गरिएकाले धेरैले ‘मानव सभ्यता’ लाई चुनौति दिने अविष्कारका रुपमा समेत हेर्न थालेका छन । केही आलोचकहरुले ‘एआई’ का कारण विश्वभर बेरोजगारी बढ्ने दाबी समेत गरेका छन् । यसका पक्षपातीहरुले ‘एआई’ले मानवीय कार्यलाई धेरै सुविधायुक्त बनाई दिने बताउने गरेका छन् । किनभने सय वटा मानव मस्तिष्कको काम एउटै कम्प्युटरको सफ्टवेयर मार्फत गर्न सकिन्छ । यो प्रसंग गणित र तर्कशास्त्रका सन्दर्भमा बढी लागू हुन्छ । अन्य क्षेत्रमा पनि यसको प्रयोग सीमित मात्रा भएपनि हुन थालिसकेको छ । ‘एआई’ को प्रमुख प्रयोगहरु विशेषज्ञ प्रणाली, खेलमा, भाषा संज्ञान, प्राकृतिक भाषा, कम्प्युटर भिजन, न्युरल नेटवर्क, रोबोटिक्स, वित्तिय, कम्प्युटर विज्ञान, मौसम पूर्वानुमान र उड्डयन क्षेत्रमा पनि गरिएका छन् ।

वैज्ञानिक तथा प्रविधिहरुले ‘एआई’ लाई कमजोर कृर्तिम बुद्धि, शक्तिशाली कृर्तिम बुद्धि र विलक्षणता गरि तीन भागमा वर्गिकरण गरि अध्ययन र अनुशन्धान गरिरहेका छन् । केही मानिसहरुमा पाइने विलक्षणताको नमुनाका रुपमा समेत यान्त्रिक बृद्धिलाई रुपान्तरण गर्ने सोच पनि तिनीहरुले बनाएका छन् । यसको फाइदा जति छ, हानी पनि उस्तै रहेको निस्कर्ष समेत केहीको छ । किनभने यसको प्रयोगको सबैभन्दा बढी मार श्रम बजारमा पड्ने निश्चित छ । मानिसले काम गर्ने स्थानमा ‘एआई’को प्रयोग जो हुने अवस्था आउदैछ । अर्थात सडक निर्माणदेखि डिसिजन मेकिङसम्म पनि यसको प्रयोग गर्न सकिने भएको छ । मानिस भन्दा पनि कयौ गुणा बढी कार्यक्षमताका आधारमा यो प्रणाली काम गर्ने भएकाले नियन्त्रित गर्न नसकेको अवस्थामा मानव सभ्यतालाई नै समाप्त पार्न सक्ने चिन्ता समेत केही प्राविधिक विज्ञहरुको छ ।

यस्तै चिन्ता व्यक्त गर्नेमा टेस्ला, स्पेक्सएक्सका संस्थापक ऐलन मास्क पनि हुन । उनले कृर्तिम बुद्धि (आर्टिफिसियल इन्टेलिजेन्स‘एआई’) लाई विश्वकै लागि खतरा हुन सक्ने संकेत गरेका हुन । ऐलन जस्तै चिन्ता राख्नेहरुले ‘एआई’ का लागि गरिदै आएको प्रयासले मानव सभ्यतालाई नै समाप्त पार्न सक्ने भएकाले  यसबारे पुर्नविचार गर्नु पर्ने तर्क राखेका छन् । तर, उनको भविष्यवाणी, संकेत र चिन्ताप्रति  फेसबुकका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरवर्गले कडा प्रतिक्रिया दिदै त्यसलाई गैर–जिम्मेदारीपूर्ण अभिव्यक्ति भनेका छन ।

त्यस्तै, सन २०१४ को डिसेम्बरमा बिबिसीका प्रविधि संवाददाता रोरी सेलान–जोन्सले विश्वविख्यात वैज्ञानिक स्टिफन हकिन्सको भनाई उदृत गर्दै कृर्तिम बृद्धि(एआई) बारे प्रकासित गरेको समाचारमा पनि मानव जस्तै सोचने यन्त्रको अविष्कारले मानिसको परिचय समाप्त हुन सक्ने खतराको लेखा जोखा गरिएको छ । हकिन्सले बिबिसीलाई भनेका थिए, ‘पुर्ण विकसित कृर्तिम बृद्धि(एआई) ले मानव जातिको विनाश कथा लेख्न सक्छ । जैविक रुपमा मानिसको विकास मन्द गतिमा हुन थालेको छ, एआईसंग प्रतियोगिता गर्न नसकेको मानिस अवस्थामा पछाडि पर्न सक्छ । यस्तो अवस्थामा आफैद्वारा नियन्त्रित भएको अवस्थामा यो यन्त्रले स्वयं परिस्कृत हुादै अगाडि बढेको अवस्थामा जटिल समस्या सिर्जित हुन सक्छ । ’

मानव बृद्धिले कसरी काम गर्छ भन्ने सिद्धान्तलाई टेकेर कम्प्युटरको गणना क्षमता तथा त्यससंग सम्बन्धित प्रतिविधिहरु ‘लेटेस्ट इन्भेन्सन’ कै रुपमा लिने गरिएको छ । त्यसैले यन्त्रद्वारा सिक्ने (मेसिन लर्निङ), न्युरल नेटवर्क, मानव भाषा संशाधन, जेनेटिक अल्गारिथम तथा कम्प्युटरको सृजनात्मकतामा तीब्र विकास पनि हुदै गएको छ । तर, यो यतिमै सीमित भने अब छैन । यी यन्त्रहरु विस्तारै  प्रतिक्रियातमक यन्त्र हुादै आत्मचेतनायुक्त यन्त्रहरुका विकास भइरहेका छन् । कृर्तिम बृद्धिको अविष्कार क्षेत्रमा लागेका प्रविधिहरुले ‘एआई’ लाई चार भागमा विभाजन गरेका छन् । ती हुन : पूर्ण प्रतिक्रियात्मक कृर्तिम बुद्धि, सीमित स्मृतिसहितको कृर्तिम बुद्धि, मस्तिष्क सिद्धान्तमा आधारित कृर्तिम बुद्धि र आत्मचेतनासहितको कृर्तिम बुद्धि । उदाहरणसहित यी चारै प्रकृतियुक्त ‘एआई’ को व्याख्या तल गरिएको छ ।

पूर्ण प्रतिक्रियात्मक  : यसलाई कृर्तिम बुद्धिको सबै भन्दा आधारभूत अंशका रुपमा लिइएको छ । वातावरण र परिस्थितिहरुबाट सिधै सूचना ग्रहण गर्ने क्षमता यसको रहेको छ । त्यसैका आधारमा निर्णय लिने सामथ्र्य पनि यसको छ । व्यापक विश्वको जानकारी नभएकाले यसले आफ्नो अनुभवहरुलाई संरक्षित गर्न सक्तैन । त्यस्तै, आफ्नो अनुभवहरुको आधारमा वर्तमान समस्यामाथि निर्णय पनि लिन सक्तैन । त्यसैले यो एउटा मात्रै क्षेत्रमा विशेषज्ञता हासिल गर्न सक्ने खालको छ । सन १९९७ मा आईबीएमको ‘डिप ब्ल्यु’ जसले विश्वकै नामुद शतरञ्ज खेलाडी ग्यारी कास्पोरोभलाई शतरंजमा पराजय गरेको गर्नु र गुगलको ‘अल्फागो’ जसले मानवलाई एउटा कम्प्युटर बोर्ड गेम ‘गो’ मा हराउने जस्तो घटनालाई पूर्ण प्रतिक्रियात्मक ‘एआई’ को उदाहरणका रुपमा लिन सकिन्छ ।

सीमित स्मृति : कृर्तिम बुद्धिको विकासमा यसलाई अर्को चरणको रुपमा लिने गरिएको छ । यसमा पछिल्ला अनुभवहरुलाई सीमित मात्रामा सूचनाका रुपमा संरक्षित गर्ने क्षमता छ । त्यसैले यसलाई  विश्वकै पछिल्लो प्रोग्रामका रुपमा लिने गरिन्छ । यो सीमित स्मृतिका आधारमा आफ्नो कृत्रिम बुद्धिद्वारा निर्णय लिन सक्छ र त्यसैको आधारमा आफ्ना निर्धारित कार्य पनि गर्ने गर्छ । स्वचालित कार र च्याटबोट (पर्सनल डिजिटल एसिस्टेन्ट–एप्पल सिरी, माईक्रोसप्ट कोर्टना) लाई सीमित स्मृति एआईको उदाहरणका रुपमा लिन सकिन्छ ।

मस्तिष्क सिद्धान्त : कृर्तिम बुद्धिमा मानिसका विचार तथा व्यवहारलाई प्रभावित गर्ने भावनाहरुलाई बुझ्ने क्षमता यसमा हुनेछ । यसले कृर्तिम बुद्धिको भावना, भावहरु, उद्देश्यहरु तथा अपेक्षाहरुलाई बुझ्न तथा सामाजिक रुपमा त्यसप्रति व्यवहार प्रदर्शन गर्ने क्षमता राख्नेछ । यस प्रकारको यन्त्र हालसम्म निर्माण नगरिएपनि कृर्तिम बुद्धिको अर्को कदमका रुपमा यसलाई हेर्न थालिएको छ । यो सिद्धान्तको अध्ययन र अनुशन्धान भइसकेको छ । केही मात्रामा उपयोग पनि गरिसकिएको छ । स्टार वार फिल्महरुको सी–३ पीओ र आर२–डि २ तथा आई, रोबोट फिल्मको सोनीलाई यसको उदाहरणका रुपमा लिइएको छ ।

आत्मा–चेतना : यसमा रोबोटले आफ्नो प्रतिनिधित्व आफै गर्न सक्नेछ । यो मस्तिष्क सिद्धान्तको अर्को चरण हुने दाबी वैज्ञानिकहरुको छ । यो यन्त्र आफ्नो आन्तरिक अवस्थाबाट अवगत हुर्दै अर्कोको भावना बुझ्न समते सक्षम हुनेछ । साथै त्यही आधारमा आफैले निर्णय पनि गर्न सक्नेछ । यसलाई अगामी पीढीको यन्त्रका रुपमा विकसित गरिदैछ । यो मानिस भन्दा पनि धेरै मेधावी, सम्वेदनशिल र चेतनायुक्त हुनेछ । यस प्रकारको यन्त्र निर्माणकै चरणमा रहेको बताइएको छ । यसो त सन २०१५ मा आएको चलचित्र एक्स मेसिनको इभा र टीभी धारावाहिक हयुमन्सको सिन्थ्सलाई आत्मचेतनशिलतायुक्त ‘एआई’ को उदाहरणका रुपमा लिइएको छ ।

साभार : ईकान्तिपुर

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung