५ जेष्ठ २०८१, शनिबार

 

सहकारीको विकासमा शेयर सदस्य नै सक्रिय हुनुपर्छ : उप्रेती

राष्ट्रिय सहकारी बैंक लिमिटेडका प्रवन्ध सञ्चालक केबी उप्रेतीले सहकारीको मुल भावना सदस्यको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरण भएको बताएका छन् । उनले सहकारीको विकासका लागि सदस्य नै सक्रिय हुनु पर्नेमा जोड दिए ।

आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले आयोजना गरेको सहकारीमा शेयर सदस्यहरुको भूमिका विषयक अन्तरक्रियामा उप्रेतीले यस्तो बताएका हुन् ।  सहकारी आफ्ना सदस्यलाई मालिक बनाउने व्यवसाय भएकाले यसको विकासका लागि सदस्यको सक्रियता आवश्यक रहेको उनको भनाई थियो ।

सहकारीको अवधारणा नै आफै उत्पादन गर्ने, आफै विक्री वितरण गर्ने र आफै प्रशोधन गरी उत्पादक र उपभोक्ताबीचको विभेद अन्त्य गर्ने भएको चर्चा गर्दै उनले स्वावलम्बी बन्नका लागि आयआर्जनका काम गर्न आवश्यक रहेको बताए ।

सहकारीका सदस्यहरुलाई आयआर्जनका लागि व्यवसाय गर्न वा स्वरोजगार बन्न रकमको अभाव नपर्ने उनको भनाई छ । सहकारी संघ संस्थाहरुमा रकम अभाव भएमा राष्ट्रिय सहकारी बैंक सहयोग गर्न तयार रहेको बताए ।

कार्यक्रममा बैंकका सञ्चालक तथा संस्थाका सम्पादक रामबहादुर जिसीले सहकारीको संक्षिप्त परिचय सहित संरक्षित पूँजिकोषका बारेमा जानकारी गराए । उनले सहकारीमा संरक्षित पूँजि फिर्ता कोषको रकम सदस्यलाई उपलब्ध नगराउदासम्म सहकारीमै कारोबार नगर्ने बताए ।  

शेयर लगानी गरेर निष्क्रिय बस्ने र सक्रिय हुने सदस्यबीच एउटै सुविधा भएका कारण सहकारीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसकेको उनको भनाई थियो । उनले सक्रिय र निष्क्रियका बीचको अन्तर हुनु पर्ने बताए ।

कार्यक्रम संस्थाका उपाध्यक्ष अञ्जु जिसीको अध्यक्षतामा सम्पन्न भएको थियो । आदर्श सञ्चार सहकारी संस्था लिमिटेडको ११ औं वार्षिक साधारणसभा भदौ १७ गते बागलुङ बजार हुँदैछ । कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा.युवराज खतिवडा आउने सम्पादक रामबहादुर जिसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्