२९ बैशाख २०८२, सोमबार

 

सम्झनामा गुञ्जबहादुर थापा

प्रकाश थापा 

२०७४ साल असोज २४ गते राति अचानक हृदयघातका कारण गलकोट क्षेत्रका पाका कम्युनिष्ट नेता गुञ्जबहादुर थापाको निधनले उनलाई राम्रोसँग चिन्नेहरुमा शोकाकुल बनायो । हुन त गुञ्जबहादुर बागलुङ जिल्लाको राजनीतिमा पद, पुरस्कार र आर्थिक फाइदा लिने व्यक्तिमध्येका थिएनन् । बाँचुन्जेल धेरैले नजिकबाट उनलाई चिन्न सकेनन् होला । तर उनको राजनैतिक चेतना, चिन्तन र समाजसेवी भावना  भने गहन र अनुकरणीय थियो । जिल्लाको दुरदराजमा पर्ने तत्कालीन मल्म गाउँ पञ्चायतको वडा नम्बर एकमा पर्ने बाटाघर (हालको गलकोट नगरपालिका ७) मा वि.सं. १९९६ चैत्र १५ गते जन्मेका गुञ्जबहादुर भारतीय सैनिक सेवामा १६ वर्ष व्यतित गरे पश्चात्को जीवन राजनीति र समाजसेवामा बिताए ।

सरल स्वाभाव र निस्वार्थ भावनाका प्रतीक स्वर्गीय थापा धेरैले नसुनेका र छापा अखबारका कलमवीरहरुले नलेखेका समाजका प्रेरणादायी व्यक्तित्व थिए ।   भारतीय सेनाको जागिर पश्चात् गुञ्जबहादुर साविकको मल्म गाविसमा फर्केर समाजसेवा र राजनीतिमा सामेल रहे । पहिलेदेखि नै कम्युनिष्ट विचारतर्फ झुकाव राख्ने थापाले २०४७ सालमा नेकपा मशाल निकट नयाँ जनवादी मञ्चका सक्रिय कार्यकर्ता भए । सो पश्चात् पार्टीको संयुक्त जनमोर्चा (चुनावी मोर्चा) को सदस्य भई राष्ट्रिय जनमोर्चा (राजमो) मल्मको अध्यक्ष हुन पुगे । नेकपा माओवादी पार्टी भूमिगत भएपछि पनि वि.सं. २०५४ सालमा राजमोकै चुनावी मोर्चाबाट तत्कालीन मल्म गाविस वडा नं. ९ को अध्यक्षमा निर्वाचित भए । माओवादी पार्टी जनयुद्घमा होमिरहँदा उनले पनि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गरिरहे ।

तत्कालीन राज्य सत्ताको धरपकड र कम्युनिष्ट विचारधाराले ओत्प्रोत भएकाले वृद्घ अवस्थामै भए पनि उनी वि.सं. २०५८ सालमा भूमिगत हुन पुगे । भूमिगत समयमा उनी सल्यान, रुकुम, रोल्पा, गुल्मी, म्याग्दी, प्युठान लगायतका जिल्लाहरुमा पनि पुगेका थिए । माओवादी जनयुद्घका बेला संगठन विस्तारमा प्रभावशाली भूमिका खेलेका गुञ्जबहादुर एक कुशल संगठक रहेको त्यति बेलाका सहकर्मी नेकपा माओवादी (केन्द्र) बागलुङका कार्यालय सचिव चन्द्रबहादुर थापा ‘शिखर’ बताउँछन् । गुञ्जबहादुर वि.सं. २०५८ सालदेखि २०६३ सालसम्म भूमिगत नेता बन्न पुगे । भूमिगत कालमा उनी जनताको घरदैलोमा पुगेर कसैको एक गास त्यसै नखाएको बरु जनताको घरमा बस्दा कसैको डोको बुनेर, कसैको नाम्ला–दाम्ला बाटेर, कसैको घरमा बालबच्चाको धरालो गरेर खाएको कुरा आफैँ बताउँथे ।

यही सहयोगी भावले गर्दा होला जनताले संकटकालमा उनलाई सम्धी भन्दै घरमा सम्मानका साथ सत्कार गरेको अनुभव बताउँथे ।माओवादी जनयुद्घका विभिन्न मोर्चाहरुमा वृद्घ अवस्थामा पनि सक्रियतापूर्वक लडेका स्वर्गीय थापाले मृत्युसँग लुकामारी गरेका धेरै नै अनुभव सुनाउँथे । पंक्तिकारसँगको भेटमा उनले साविकको काँडेवास गाविसदेखि मल्मतर्फ जाने क्रममा झोलामा बम बोकी हिँड्दा तत्कालीन शाही सेनासँग टिमुरबोटमा जम्काभेट हुँदा कृषकको अभिनय गरी बचेको कुरा सुनाएका थिए ।

त्यसैगरी अर्को घटनामा आफू घरको बार्तलीमा बसिरहेको बेला सेनाले घरलाई घेरा हालेर माओवादी कै भेषमा क. गुञ्जबहादुर खोई भनी खोजी गर्न आउँदा पनि उनी आफ्नी ८४ वर्षीया आमा र श्रीमतीको सहयोगमा सेनालाई छल्न सफल भई ज्यान बचाएको अनुभव उनले बताएका थिए । उनले सैनिकको घेरा तोड्ने, जवाफी फायरिङ गर्ने जस्ता सयौं घटना खेपेका थिए । २०६३ सालमा देशमा आएको परिवर्तनसँगै गाउँ फर्किएका गुञ्जबहादुरको भूमिका पनि फेरियो । त्यसपछि उनले गाउँको सामाजिक विकासमा सक्रियता देखाए । गाउँमा रहेका विद्यालय, कृषि, सामुदायिक वन, निजी लगानीमा मोटरबाटो निर्माण लगायतका क्षेत्रको विकासमा उनको विशेष योगदान रह्यो । उनले समाजको अज्ञानतालाई शिक्षाका माध्यमबाट हटाउनुपर्छ भन्ने आदर्श विचार व्यक्त गर्नेगरेको कुरा देउराली प्राथमिक विद्यालय, मल्मका प्रअ केहरसिंह थापा बताउँछन् ।

आर्थिक रुपले पारदर्शी र स्वच्छ छविका थापा आफैँमा दानवीर पनि थिए । उनले समाजका हरेक क्षेत्रमा खुल्ला हृदयले चन्दा सहयोग गर्ने गर्दथे । पहिलेदेखि नै गाउँमा कम्युनिष्टहरुको मुख्य पाहुँना घर नै उनको निवास हुने गर्दथ्यो । स्थानीय तहदेखि केन्द्रीय तहसम्मका नेताहरुले उनकै घरमा आश्रय लिन्थे । भारतीय सरकारले घरमै बसेर खान दिएको पेन्सनलाई उनले गोली, बारुद, बन्दुक र चन्दामा खर्चिए । उनले घरपरिवार, अयसआराम र धनसम्पत्ति केही पनि भनेनन् ।

जनयुद्घका नाममा लोभी, पापी, व्यभिचारी, स्वार्थी, भ्रष्टचारी र लुटेराहरुले पार्टीको कम्युनिष्ट विचारलाई विकृत गराएकोमा उनको गुनासो पनि थियो । उनी आफैले भन्थे “हामी युद्घमा त्यसै हिंडेको हैन, जो छ समाजमा भएका भेदभाव हटाउन अगर कम्युनिष्ट सरकार ल्याएर धर्मका नाममा, उच्च जातका नाममा, पद र प्रतिष्ठाका नाममा जनतालाई ठगी खाने प्रवृत्तिलाई निर्मूल पार्नू हो ।” उनको यो विचारले मूर्त रुप लिन सकिरहेको छैन । समाजमा आर्थिक विभेद छँदै छ, जातीय भेदभाव उस्तै छ, धर्मका नाममा लुट प्रथा अझै मौलाएको छ, व्यवस्था फेरिए पनि बेथिति कम भएको छैन, नेता फेरिए पनि नोकरशाहीतन्त्र अझै बढेको छ, देशमा स्वरोजगार होइन बेरोजगार बढेकै छ, युवा मात्र होइन युवती समेत पेट पाल्न विदेश पलायन हुनु परेको छ ।

आफूले विदेशीको गुलामी र अर्काको राष्ट्रियताको निम्ति सोह्र वर्ष लड्नु परे पनि आफ्नो सन्तान आफ्नै देशको स्वाधिनता र समुन्नतिका लागि आफ्नो श्रम गरुन् भन्ने विचार उनको थियो । यो विचारले मूर्तता नपाउने देखेपछि उनको चित्त दुखेको थियो । उनैका सहयोद्घाले उनको विचार र भावनाको कदर गर्न नसकेपछि उनी मूल राजनैतिक विचारबाट केही समय विचलित पनि भए ।

माओवादी पार्टीको सत्ता मोहसँगै निष्ठावान् कार्यकर्ताहरुप्रतिको बेवास्था हुन थालेपछि उनी समाजसँग जोडिएर गाउँको विकास गर्ने उद्देश्यका साथ २०६८ सालपछि पार्टी परिवर्तन गरी नेकपा एमालेमा आबद्घ भए । उनी त्यसपश्चात् नेकपा एमाले बागलुङ जिल्ला कमिटीको सदस्य भई निष्ठापूर्वक पार्टीको काममा सक्रिय रहे । उनी आधारभूत तहबाट विश्वास गरिएका परिपक्क समाजसेवी नेता भएको कुरा नेकपा एमालेका जिम्मेवार नेता श्रीप्रसाद शर्मा बताउँछन् । समग्रमा गुञ्जबहादुर एक स्वच्छ, कर्तव्यनिष्ठ, इमानदार र त्यागी नेता थिए । यसरी उनी आजीवन घरसम्पत्ति, पारिवारिक मोह र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर उत्पीडित जनाताको मुक्ति, समाजिक रुपान्तरण र राष्ट्र निर्माणका निम्ति लडिरहे ।

भारतीय सेनाको पेन्सन खाई बस्ने बुढ्यौली उमेरमा सामाजिक क्रान्तिका निम्ति युद्घमा होमिएका थापा आफैँमा अनुकरणीय व्यक्ति थिए । उनले समाज र राष्ट्रका निम्ति निस्वार्थ भावले बाँचुन्जेल सेवा गरिरहे ।  समाजमा सुसुप्त अवस्थामा रहेका धेरै गुञ्जबहादुरहरु छन् । जो दुनियाँका नजरमा ओझेलमा परे पनि लगातार समाजलाई अगाडि डोहो¥याइरहेका छन् । त्यस्ता गुमनाम योद्घाहरुलाई आजका छापाहरुले प्रकाशमा ल्याउनु पर्दछ र जनताले सम्मान गर्नुपर्दछ । यिनै लुकेका मोतीहरुमध्येका एक स्वर्गीय गुञ्जबहादुर थापामा हार्दिक श्रद्घाञ्जलि ।। (जन्म -वि.सं. १९९६ चैत्र १५ – मृत्यु २०७४ असोज २४)

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung